सन्तोष बस्याल
पोखरा ।
पोखरामा २३ वर्षपछि ऐतिहासिक संस्कार जोगाउने उद्देश्यले निकालिएको बाघजात्रा सकिएको छ । बुधबार पोखरा रंगशालामा एक कार्यक्रमका बीच जात्रा सकिएको हो। जात्रैजात्राको पर्वका रुपमा परिचित बाघजात्रामा पोखरा, भक्तपुर लगायतका स्थानबाट कलाकारहरुको उपस्थिति थियो।
पहिले नेवारसमूदायमा मात्रै सिमित यो जात्रा मनाउन अहिले अन्य समूदायका मानिसहरुको आगमन पनि बाक्लै देखिन्थ्यो ।
सामाजिक अभियान्ता सुनिल उलकका अनुसार अहिलेको जात्रा एक हिसाबले सफल भएको छ तर सोचेजस्तो भने हुन सकेन । ‘जात्रा एक हिसाबले सफल मान्नुपर्छ । तर पनि हामीले सोचे जस्तो भएन । प्रत्येक टोलटोललाई पत्र पठाएका थियौं । टोलले पत्र नपाएको कुरा आयो । समूहगत रुपमा आउनुपर्ने जात्राहरु आएन । अपेक्षा गरिएको संख्या थियो त्यो पुरा भएको छैन । समग्रमा खुशी छौं । २३ वर्षपछि जात्रालाई निरन्तरता दिने विषयलाइ नै उपलब्धि ठानेका छौं ।’, उनले भने ।
अगाडिको जात्रामा अन्य समुदायको सहभागिता नभएता पनि अहिले सबैलाई समेट्ने प्रयास गरिएको उनले बताए । उनले भने, ‘कुनै पनि जात्रा वा संस्कार कसैको व्यक्तिगत हुँदैन । हामी सबैले सहकार्य गर्न सक्नुपर्छ । एकले अर्काको संस्कृतिलाई माया गर्नुपर्छ ।’
उनका अनुसार यसपालीको बाघजात्रामा मगर, शेर्पा, भोटे लगायतको समुदायको सहभागिता रहयो । अब भने ७ वर्षमा नै बाघजात्रा निकालिने उनले बताए । चार वर्षपछि भैरवजात्रा निकालेर त्यसको ३ वर्ष पछि बाघजात्रा निकाल्ने प्रचलन छ । उनका अनुसार तीन दिनको कार्यक्रममा तायमचा, लाखेनाच र कुमारी प्रदर्शन रहयो । २३ वर्ष पछिको आकर्षण सुनिलले बढ्दो पाएका छन् । भैरव जात्रामा युवा पिडीहरु लागेको भनाइ उनको छ । संस्कृति जोगाउन पुस्ताहस्तान्तरण समेत गरिएको छ । जसले गर्दा बाजा बजाउन, नाच्न सबै विषयमा नयाँ कलाकार पनि पोख्त भएका छन्।
‘बाघ मार्ने विशेष ताल हुन्छ । त्यो ताल लोप हुने अवस्थामा थियो । कृष्णदेव प्रधानाङ्ग र मेघबहादुर ताम्राकर लाई मात्र बाघ मार्दा बजाउने तालको विषयमा ज्ञान थियो । अहिले ८ जनालाई तालिम दिएका छौं । अबको २५ वर्ष सम्म तालको संरक्षणमा जुटेका छौं । ताल नै हराउँदा बाघजात्रा हुँदैन ।’, उनले भने ।
नकरात्मक कुराको अन्त्यका लागि बाघजात्रामा बाघ मार्ने चलन छ । मान्छेभित्रका गलत तत्वहरुलाई हटाइ सकरात्मक सन्देश प्रवाह गर्न बाघजात्रा निकालिन्छ ।