बागलुङ,
बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा । फार्म छेउमै रहेको बारीमा भेटिनुहुन्छ चन्द्रलाल पाण्डे । बारीको घाँस काट्ने, तकारीमा पानी लगाउने र भैँसी दुहुने चन्द्रलालको दैनिकी नै हो । आकस्मिक कामबाहेक उनी फार्म छाडेर कतै जादैनन । जानका लागि उनलाई फुर्सद पनि हुँदैन ।
करिब २० वर्ष अगाडि कतार पुग्नुभएका चन्द्रलालले पाँच वर्ष उहीँ बिताए । परदेशी भूमि, दुःखको काम त्यसमाथि साहुको गालीबोली जसले गर्दा उनलाई विदेश बस्नै मन भएन । पाँच वर्ष बिताएपछि उनी स्वदेश फर्किए । गाउँ फर्किएपछि उनले विक्रम संवत् २०६७ देखि व्यावसायिक रुपमा तरकारीखेती गर्न थाले । बिस्तारै भैँसी पालेर दूध बिक्री गर्न थाले । अहिले चन्द्रलालले तरकारी र दूध बिक्री गरेरै राम्रो आम्दानी गर्दै आएका छन ।
उनले २४ रोपनी क्षेत्रमा तरकारीखेती गर्नुभएको छभने पाँचवटा भैँसी पालेर दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन । बुर्तिबाङ बजार नजिकै रहेको हुँदा उहाँले उत्पादन गरेको तरकारी र दूध बिक्रीका लागि समस्या छैन । जति पनि बजारमै खपत हुने हुँदा उत्पादन बढाउनतर्फ लागेका छन । पन्ध्र वर्षसम्म निरन्तर तरकारीखेती र दूध उत्पादन गर्दै आएका चन्द्रलाल विदेशमा भन्दा बढी खुसी र सुखी छन । विदेशको पीडाले आफूलाई गाउँमै उद्यमी बन्न सिकाएको उनले बताए ।
“म विदेश जानभन्दा पहिला पनि सामान्य रुपमा तरकारीखेती गरेको थिए, तर अहिले जस्तो व्यावसायिक बन्न सकेको थिएन, धेरै कमाइएला भनेर कतार पुँगे, त्यहाँ त निकै कडा काम गर्नु पर्दोरैछ, साहुको नमिठो गालीबोली सहन नसकेर गाउँ फर्किएर यही केही गरौँ भनेर लागेँ”, उनले भने, “म अहिले ४० वर्ष भए, मेरा उमेरका धेरै युवा विदेश छन्, गाउँ फर्किएर व्यावसायिक रुपमा तरकारीखेती गर्ने हो भने साउदी कतारमा भन्दा बढी आम्दानी गर्न सकिन्छ ।”
उनले तरकारी र दूध बेचेरै आठ जनाको परिवार चलाएका छन । बुबा, आमा, श्रीमती र चार छोराछारी यही पेसाबाटै धानेको उनको भनाइ छ । पहिले घरपरिवार चलाउनका लागि समस्या हुने गरेको स्मरण गर्दै तरकारीखेतीले सहज रुपमा जीवनयापन गर्नसक्ने बनाएको पाण्डेले बताए । खासगरी हिउँदको बेमौसरी तरकारी उत्पादन गर्दै आएको उनले सुनाए । सुरुमा आफूले रु १५ हजारबाट व्यवसाय सुरु गरेको भन्दै अहिलेसम्म करिब रु ३५ लाख लगानी भएको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र बागलुङले टनेल, भकारो गर्न र अन्य व्यस्थापनका लागि रु १५ लाख सहयोग गरेको जनाउँदै उनले नगरपालिकाबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गरे । आफूले पूर्णकालीन रुपमा एकजना कामदार राखेर रु १८ हजार तलब दिने गरेको सुनाउँदै समयसमयमा गाउँका अन्य युवालाई पनि रोजगार दिने गरेको उनको भनाइ छ । चन्द्रलालले तरकारी र दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्ने सुनाए । तरकारीखेतीबाट केही सम्पत्ति जोडेको उनले बताए ।
उनले भनिन, “तरकारीखेतीले मेरो आर्थिक अवस्था पनि उकास्यो, पहिले छ मुरी धान फल्ने खेत मात्रै थियो, अहिले मैले थप ३४ मुरी धान खेत किने, तराईमा एउटा घडेरी जोडेको छु, धैर्य भएर मेहनत गरेपछि सफलता हासिल गर्न सकिने रैछ भन्ने बुझ्दैछु, यो पेसाबाट मेरो सिङ्गो परिवार नै सन्तुष्ट छ, सक्दासम्म यही पेसा गर्ने हो, बाँकी पछि छोराछोरीले केही इलम गर्नेछन्, आत्मसन्तुष्टि सबैभन्दा ठूलो कुरा रैछ, धन सम्पत्ति त मेहनत गरे जोडी हालिन्छ ।”