सुचना, समाचार र मनोरन्जन

डा. अनिल सुवेदीको ‘वैदामका वृक्ष’ पुस्तक लोकार्पण

पोखरा,

 शुक्रबार अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर प्रकृतिको काख गैरीघाट पार्कमा कृषि तथा वातावरणविद् डा. अनिल सुवेदीद्वारा लिखित ‘वैदामका वृक्ष’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

कार्यक्रम राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुरप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

पुस्तक विमोचनपछि शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि क्षेत्रीले वैदाम क्षेत्रका पुराना तथा ऐतिहासिक महत्व बोकेका वृक्षलाई समेटेर पुस्तक प्रकाशन गरिएकोमा डा. सुवेदीलाई बधाई तथा धन्यवाद दिए । उनले पुस्तकमा ३०० वर्षभन्दा पुराना वृक्षहरूको जानकारी समावेश गरिएको उल्लेख गर्दै यस्ता कृतिले प्राकृतिक सम्पदाको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

उनले प्रकृति र प्राकृतिक सम्पदाको संरक्षण मानव समुदायको साझा दायित्व भएको उल्लेख गर्दै वृक्षारोपणसँगै संरक्षणमा पनि सबैले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि केदारेश्वर मन्दिरका पिठादेश्वर डा. चित्रधन चैतन्य लेखनाथ आचार्य गुरुले धर्मशास्त्रमा समेत वृक्षको महत्वलाई विशेष रूपमा व्याख्या गरिएको उल्लेख गर्दै बोटबिरुवाले मानव जीवन र समग्र जीवकल्याणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

कार्यक्रममा पुस्तकबारे प्रकाश पार्दै लेखक डा. अनिल सुवेदी ले वैदाम क्षेत्रका बोटबिरुवा प्राकृतिक सौन्दर्य, पर्यावरण संरक्षण तथा मानव स्वास्थ्यका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले स्थानीय नागरिकलाई ती वृक्षहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको स्पष्ट पारे । सुवेदीले पुस्तक लेखनका क्रममा अभियानकर्मी अनिल थापा र रितिसा बसेलको साथ मिलेको स्मरण गरे ।

पुस्तक विमोचन कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका पूर्व अध्यक्ष तथा नागरिक समाज कास्कीका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले राखेका थिए ।

Leave A Reply

Your email address will not be published.