सुचना, समाचार र मनोरन्जन

बल्छी धुर्बेको ‘गोबर गणेश’ ट्रेलरले छोयो १९ लाख १० हजार भ्युज

काठमाडौं :

हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको शिखरमा पुगेको छ। सार्वजनिक भएको छोटो समयमै फिल्मको ट्रेलर र यसमा समावेश गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा उल्लेखनीय दर्शक पाएका छन्।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलर २० लाख भ्युज नजिक पुगेको छ। समाचार तयार पार्दासम्म ट्रेलरले १९ लाख १० हजार भ्युज पाइसकेको छ, जसले फिल्मप्रति दर्शकको बढ्दो आकर्षणलाई स्पष्ट रूपमा देखाएको छ।

ट्रेलरमा गाउँबाट काठमाडौं आएका एक युवकको संघर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। आमा–छोराबीचको भावनात्मक सम्बन्ध र शहरको कठोर यथार्थले धेरै दर्शकलाई भावुक बनाएको प्रतिक्रिया प्राप्त भएको छ। मरिचमान श्रेष्ठकै स्वरमा रहेको ‘ओ हेलो हाई हाई’ बोलको गीत टिकटक र युट्युबमा समेत लोकप्रिय बनेको छ। मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटी फिचर्ड उक्त गीत डान्सिङ बिटमा आधारित छ, जसले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ।

युट्युबको कमेन्ट बक्समा दर्शकहरूले फिल्मको विषयवस्तु, शीर्षक र कलाकारहरूको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन्। धेरैले ‘गोबर गणेश’ शीर्षक मौलिक र फरक रहेको प्रतिक्रिया दिएका छन्।

बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटीका साथै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा तथा निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन्। यो उनको पहिलो फिचर फिल्म निर्देशन हो । शिवराम श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहेको फिल्म ‘गोबर गणेश’ आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउनेछ । नेपालमा फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

Leave A Reply

Your email address will not be published.