सुचना, समाचार र मनोरन्जन

गरिमाले गरिन् ७५ लाखको भिडियो, हिन्दी गीतमा रोशनसँग रोमान्स

काठमाडौं :

अभिनेत्री तथा मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ। महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ।

शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँग मोडल तथा गायक रोशन अधिकारी फिचर्ड छन्। अमेरिकामा नै बस्दै आएका अधिकारीले भिडियोको लागत ५५ हजार अमेरिकी डलर दाबी गरे। हालको विनिमय दर अनुसार उक्त रकम नेपाली रुपैयाँमा झण्डै ७५ लाख हुन आउँछ।

अमेरिकाका विभिन्न मनोरम लोकेशनमा छायांकन गरिएको भिडियोमा दुई युवा युवतीबीचको सुन्दर प्रेम कहानी समेटिएको छ। गरिमा र रोशनलाई प्रेमिल मुद्रामा फिचर्ड गरिएको भिडियोको मेकिङ उच्च देखिन्छ। भिडियोमा कैद भएका दृश्य र गीतका शब्दले एक प्रेमीले प्रेमिकाप्रति देखाउने प्रेम भाव प्रकट गर्छन्।

सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा मोडल स्वंयम अधिकारीले नै तयार गरेका छन्। सुमन लामिछानेको कोरियोग्राफीमा तयार भिडियोमा सम्पादन विवेक सुनारको छ भने कलरिङ मिलन विश्वकर्माको छ। अमृत विस्वले छायांकन गरेको भिडियो शान थापाको कन्सेप्टमा सिद्धार्थ विस्वले निर्देशन गरेका हुन्।

नेपालबाट म्युजिक भिडियो छायांकनकै लागि अमेरिका पुगेकी अभिनेत्री शर्माले भिन्न अनुभव र राम्रो टिमअपमा उत्कृष्ट रिजल्ट आएको बताइन्। नेपाली गीत संगीत र मनोरञ्जन क्षेत्र आफ्नो जीवनको अभिन्न अंग बनिसकेको भन्दै गायक मोडल तथा संगीतकार अधिकारीले आगामी दिनमा पनि यो क्षेत्रमा निरन्तर रहने बताए। कार्यक्रममा दिग्गज कलाकार नीर शाह, राजु सिंह लगायतले रोशन र गरिमाको कामप्रति प्रसंशा गर्दै बधाइ र शुभकामना प्रदान गरेका थिए।

Leave A Reply

Your email address will not be published.