काठमाडौं :
अभिनेता सागर लम्साल ‘बले’ अभिनीत नयाँ नेपाली चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को छायांकन चितवनमा हुने भएको छ। निर्देशक राजु गिरीको निर्देशनमा बन्ने यस फिल्मको सुटिङ आगामी दशैँ पूर्णिमापछि सुरु हुने छ।
गिरीसहित नायक सागर लम्साल, सहायक निर्देशक बिनयराज पौडेल, छायाँकार श्याम तामाङ र पत्रकार राजेन्द्र आचार्य मंगलबार चितवन पुगेका थिए। फिल्मका अधिकांश दृश्य चितवन र तनहुँका रमणीय स्थानमा खिचिनेछन्।
सागर लम्सालले चितवनलाई छायांकनका लागि ‘अत्यन्तै अनुकूल स्थान’ भन्दै दर्शकले यस फिल्मलाई मन पराउने विश्वास व्यक्त गरेका छन्। निर्देशक गिरीले पनि चितवनको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताका कारण यसलाई फिल्मको मुख्य लोकेशन बनाएको बताए।
चितवन पछिल्ला वर्षहरूमा ‘जनता जर्नादन’ र ‘मंगल’ ज्ञानशास्त्रसहितका फिल्मको छायांकन स्थल बनेको छ। यसै क्रममा ‘डल्लेले इन्ट्री मार्यो’ मार्फत बले फेरि मुख्य भूमिकामा देखिँदैछन्।