निर्वाचनको सन्दर्भमा ‘पब्लिक डिबेट’ अर्थात् सार्वजनिक बहसका लागि राखेको प्रस्तावलाई उनका प्रतिस्पर्धी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहले अस्वीकार गरेका छन्। झापा ५ बाट ओलीसँगै चुनावी मैदानमा रहेका शाहले ओलीसँग एउटै मञ्चमा उभिन नचाहेपछि निर्वाचनको सरगर्मीसँगै राजनीतिक वृत्तमा यो विषयले चर्चा पाएको छ। ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफू पारदर्शी बहसका लागि तयार रहेको भन्दै एजेन्डा र खाकासहित आमने–सामने हुन सबैलाई आह्वान गरेका थिए।
सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको भन्दै ओलीले देशको नेतृत्व गर्न खोज्ने दलका एजेन्डा, विगतका काम र भविष्यको ‘रोडम्याप’ बारे बहस हुनु सकारात्मक हुने उल्लेख गरेका छन्। ‘देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको छ,’ ओलीले लेखेका छन्, ‘प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन म आयोजकहरूलाई आग्रह गर्दछु।’ उनले वास्तविक एजेन्डामा आधारित भएर जनताले मूल्यांकन गर्न पाउनुपर्ने धारणा राखेका छन्।
ओलीको यो प्रस्ताव आए लगत्तै झापा ५ का उम्मेदवार बालेन शाहले भने ओलीसँगै एउटै मञ्चमा बसेर बहस गर्न अस्वीकार गरेका छन्। दुई नेताबीचको यो विवादले झापा ५ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच नीति र कार्यक्रममा आधारित भएर बहस गर्नुपर्ने माग उठिरहेका बेला ओलीको यो घोषणालाई कतिपयले सकारात्मक रूपमा लिएका छन्। यद्यपि उम्मेदवारहरूबीचको आपसी असमझदारीका कारण यस्तो सार्वजनिक बहसको वातावरण बन्ने वा नबन्ने भन्नेमा अझै अन्योल देखिएको छ।