काठमाडौं :
सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ को टिजरलाई एक दिनमा साँढे १२ लाख भ्युज पाएको छ। यो समाचार तयार पार्दासम्म टिजरलाई युटुबमा १२ लाख ५५ हजारभन्दा बढि भ्यु पाएको हो। सामान्यतया फिल्मका अन्य सामग्रीहरू( गीत, ट्रेलर र भन्दा टिजरको डिजिटल उपस्थितिमा यो उत्तम भ्युज हो।
टिजरलाई युटुबमा ४३ हजार लाइक आएको छ भने ७ हजार २ सय ८५ कमेन्ट गरिएको छ। जसमा अधिकांशले कलाकारको कामलाई मन पराएका छन्। कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति यस उपलब्धिको प्रमुख आधार मानिएको छ। देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितको टिजरले दर्शकलाई सशक्त महसुस गराएको छ।
टिजरमा समीर भट्टलाई ‘एक्सन किङ’को परिचय दिइँदै देखाइएको छ। उनको दमदार संवाद —‘यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ’— सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन्। आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो फिलमको निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको यस फिल्मलाई बडादसैँको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
