काठमाडौं :
असोज १३ गते फूलपातीको दिन प्रदर्शनमा आउने बहुप्रतीक्षित नेपाली चलचित्र **‘बलिदान’**ले अग्रिम टिकट बिक्री सुरु गरेको छ। अग्रिम बिक्री सुरु भएको केही घण्टामै नै हल–हलमा दर्शकको उल्लेख्य चासो देखिएको छ भने देशभर शो सङ्ख्या तीव्र गतिमा बढिरहेको वितरकले जनाएका छन्।
चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकीलगायत चर्चित कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। यही स्टारकास्टलाई लिएर चलचित्रप्रति दर्शकमाझ उच्च उत्सुकता देखिएको छ।
काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर कुवेर सिने डिस्ट्रिब्युसनमार्फत वितरण भइरहेको चलचित्रलाई बुधबारदेखि नै क्यूएफएक्स सिनेमाजले करिब १ सय शो प्रदान गरेको छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाजले समेत उल्लेख्य शो दिएको छ। समाचार तयार पार्दासम्म करिब २ सय शो सुनिश्चित भइसकेको र यो सङ्ख्या ३ सयसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार चलचित्रले मनोरञ्जनसँगै देशप्रतिको कर्तव्यबोध र आमाप्रतिको माया–ममताको भाव दर्शकसम्म पुर्याउनेछ। उनका शब्दमा, “बलिदानले दर्शकलाई जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा दिनेछ।”
‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेका छन्। कलाकारको स्टारडम र दर्शकको अग्रिम चासोलाई देख्दा चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।