सुचना, समाचार र मनोरन्जन

तीजमा अब पुरानो रोदन होइन, श्रीमानका पेशामाथि ठट्यौलो व्यङ्ग्य (भिडियोसहित)

काठमाडौं :

चलचित्र ‘बुलबुल’ र ‘भूटान’का निर्माता तथा गीतकार अविरल थापाले हरितालिका तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’ बजारमा ल्याएका छन् ।

परम्परागत तीज गीतको शैलीभन्दा निकै फरक यस गीतमा वर्तमान समयका महिलाहरुको भोगाइ र सामाजिक मनोविज्ञानलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यस गीतको सबैभन्दा बलियो र भिन्न पक्ष यसको भिडियो निर्माण शैली हो । नेपालमा सम्भवतः पहिलोपटक ‘एज रिभर्सड कास्टिङ’को अवधारणालाई यस भिडियोमा प्रयोग गरिएको छ ।

भिडियोमा वयस्क महिलाहरुले गर्ने अभिनय र उनीहरुको भूमिकामा स-साना बालिकाहरुलाई उतारिएको छ। नेपा डान्स एकेडेमीका १६ जना बालिकाहरुले विवाहित महिलाको भेषमा गरेको जीवन्त अभिनय र नृत्यले भिडियोलाई निकै आकर्षक बनाएको छ । हाल छायांकनमा रहेको चलचित्र ‘जुबा’की लेखक वर्षा पौडेलले यस भिडियोको निर्देशन गरेकी हुन् भने रोहिया महर्जनले यसमा कोरियोग्राफी गरेकी छिन्।

गीतमा विभिन्न पेशामा आबद्ध श्रीमानहरुका कारण श्रीमतीहरुले भोग्नुपरेका विवशता र समस्यालाई ठट्यौलो तथा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन्। जग्गा कारोबारीदेखि डाक्टर, पत्रकार, पसले, वैदेशिक रोजगारीमा रहेका, शेयर कारोबारी, सरकारी कर्मचारी, सेना र फिल्मकर्मी श्रीमानहरुले समय नदिँदा वा उनीहरुको कार्यशैलीका कारण श्रीमतीको मनोदशामा कस्तो प्रभाव पर्छ भन्ने कुरालाई गीतका शब्दले समेटेको छ। गीतकार थापा भन्छन्, “बजारमा आइरहेका एकैखाले र पुरानै शैलीका रोदनयुक्त गीतभन्दा बदलिँदो समयका आधुनिक नारीका वास्तविक कथा र समस्यालाई रमाइलो पारामा प्रस्तुत गर्ने प्रयास गरेका हौँ ।”

सार्वजनिक गीतमा गायिका दीपिका बयम्बु, गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको छ। गीतमा किरण भुसालको संगीत रहेको छ। अविरल थापा केवल निर्माता मात्र नभई एक स्थापित गीतकार पनि हुन्। यसअघि चलचित्र ‘साँघुरो’का लागि गहकिला गीत लेखिसकेका उनको ‘ठक्कर’ बोलको गीत गत वर्ष कान्तिपुर म्युजिक अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल भएको थियो।

नयाँ गीत सार्वजनिक गरेसँगै थापा नयाँ चलचित्र निर्माणको तयारीमा पनि जुटेका छन्। केही समयअघि मात्रै उनले नयाँ चलचित्रका लागि नायिकाको खोजी गर्दै ‘अडिसन कल’ समेत आह्वान गरेका थिए। ‘देवाश्री फिल्म्स’को युट्युब च्यानलबाट रिलिज गरिएको यो तीज गीतले समसामयिक शब्दका कारण दर्शकको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.