सुचना, समाचार र मनोरन्जन

पराइ भूमिको पीडा बोकेको फिल्म ‘भूठान’ अमेजनमा

काठमाडौं :

फिल्म ‘भूठान’ विश्वविख्यात ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक गरिएको छ । फिल्मका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले ‘भूठान’को अंग्रेजी नाम ‘द वर्ल्ड्स ह्यापिएस्ट म्यान’ बाट हालका लागि उत्तर अमेरिका क्षेत्रमा आधिकारिक रूपमा रिलिज गरेको हो ।

फिल्मलाई क्रमशः संसारभरका अन्य प्लेटफर्ममार्फत पनि उपलब्ध गराउने तयारी भइरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले जानकारी दिए ।

गत वैशाखमा नेपालमा रिलिज भएको फिल्म ‘भूठान’ उर्फ ‘द वर्ल्ड्स ह्यापिएस्ट म्यान’ भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथामा आधारित छ । वृद्धावस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट जन्मभूमि भुटान फर्किन गरेको प्रयास, जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नुपर्दाको उकुसमुकुस, भौतिक सुख पाए पनि धर्म, संस्कार र संस्कृतिको असन्तुलनले पार्ने प्रभावलाई फिल्मले संवेदनशील रूपमा प्रस्तुत गरेको छ ।

फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य रहेका छन् । साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदीको अभिनय रहेको छ । हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

‘भूठान’ हलिउडको साग–आफ्ट्रा (SAG-AFTRA) अन्तर्गत रहेर निर्माण भएको पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।

विनोद पौडेलको निर्देशन रहेको फिल्मका निर्माता अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा हुन् । फिल्मको छायांकन सुशन प्रजापतिले गरेका छन् । कार्यकारी निर्मातामा विकास भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट र अपार श्रेष्ठ रहेका छन् ।

फिल्मको सम्पादन अन्जय खड्काले गरेका छन् भने ध्वनि डिकेश खड्गी शाही, संगीत समवरण केम, कास्टिङ सूर्य शाही, पब्लिसिटी डिजाइन उज्ज्वल श्रेष्ठ, प्रोडक्सन डिजाइन विमल सुवेदी र कला निर्देशन बलिउडका प्रख्यात कला निर्देशक अञ्जन गजुरेलले गरेका छन् ।

फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट र एभरेष्ट इन्टरटेनमेन्टको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.