पोखरा :
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले बोर्डमा काम गर्न कोही तयार भए छोड्न तयार रहेको बताएका छन्। कास्कीको सिक्लेसमा चलचित्र पत्रकार संघले गरेको ‘सिक्लेस सिनेमा र सरकार : हिजो आज र भोलि’ विषयक बहसमा आइतबार उनले बोर्डमा आफु बसिरहन नचाहेको बताएका हुन्।
उनले भने,‘यदि कसैले आज गएर मेरो सट्टामा कुनै पनि चलचित्रकर्मी आएर चलचित्र विकास बोर्ड स्वायत्त बनाउँछु भनेर हात उठाउँछ भने एक ढंगले उहाँलाई भित्र्याउन तयार छु ।’
उनले बोर्डमा जाँदा काम गर्न भनेर छिरेको तर आफुलाई सञ्चारमन्त्रालयबाट नै काममा बाधा पुर्याउने गरेको आशय ब्यक्त गरे।
उनले भने,‘त्यो ठाउँ (चलचित्र विकास बोर्ड)मा पुगेपछि मात्रै चलचित्रको विकास हुन्छ कि क्या हो, भनेर गएको हो । चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालय भित्र हराएको रहेछ ।’
विगतका बोर्ड अध्यक्षहरुले पनि स्वायत्तताको लागि प्रयास गरेको र आफू पनि त्यही प्रयासमा रहेको केसीले बताए । हाल चलचित्र विकास बोर्ड सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको हुँदा पुरानै ऐनमा काम गर्नु परेको दुखेसो पोखे।
‘हामी कहाँबाट कहाँ पुगिसक्यौं । ब्ल्याक एन्ड ह्वाइटबाट डिजिटल मा आइक्यौं । तर, नयाँ ऐन किन पास भइराखेको छैन ?’ केसीले भने, ‘जबसम्म चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन, सञ्चार मन्त्रालयको अन्डरमा बोर्ड रहिरहन्छ, तबसम्म राष्ट्रिय चलचित्र र चलचित्रको विकास हुन्न ।’
उनले आफुले बोर्डमा जागिर खान मात्र नगएको र काम गर्न बसेको तर्क गरे।
‘सञ्चारमन्त्रीज्यूले यथाशीघ्र पास गर्न आफैं लाग्छु भनेर आश्वासन दिनुभएको छ । विश्वास गर्नैप¥यो । मेरै कार्यकालमा कार्यवधिमा पास गर्न सकिन्छ कि भनेर कोशिस त गर्नै प¥यो’, केसीले भने, ‘अन्तिम प्रयास भइराखेको छ । बोर्डमा जागिर खानलाई मात्र बसेको होइन ।’