सुचना, समाचार र मनोरन्जन

‘कन्दरालाई जोगाइराख्ने जिम्मेबारी दर्शकलाई, भाइरलको पछाडि लाग्दिन’

हामी त निरन्तर बग्न आएका हौं । तर यसको जिम्मेबारी आम दर्शक स्रोतामा पनि छ । उहाँहरुले हाम्रा सिर्जनालाई कसरी लिनुहुन्छ त्यसमा फरक पर्छ । बिबेक श्रेष्ठलाई नेपालमा नै राखिराख्नका लागि हामीले गरेका कार्यक्रमहरुमा दर्शकको साथ कस्तो रहन्छ त्यसमा भर पर्छ । नेपालमा बसेर संगीतबाहेक अरु केही सोच्न सक्दिन । कन्दरालाई ब्युताउन पनि मिडिया सँगै दर्शकहरुको खाँचो उत्तिकै छ । आशा छ यसमा हामी सफल हुनेछौं ।

सन्तोष बस्याल
पोखरा ।

पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा पौष २७ गते साँझ ५ बजे कन्दरा लाइभ कन्सर्ट हुने भएको छ । त्यसैको छेकोमा गायक बिबेक श्रेष्ठसँग गरिएको परिचयको १० प्रश्न :

कन्दरा लाइभ कन्सर्टको तयारी कस्तो छ ?

तयारी सबै सकिएको छ । व्यवस्थापकिय काम भइरहेको छ । ९० प्रतिशत काम सकेका छौं ।

अपेक्षा कस्तो छ ?

म खासै अपेक्षा गर्ने मान्छे होइन । तर पनि हामीले पोखरामा यस्तो कार्यक्रम गर्दै गर्दा पोखरेलीहरुको अपार माया, साथ, सहयोग पाइन्छ भन्ने अपेक्षा छ । खुलदुली चाहिँ भइरहेको छ । रिजल्ट राम्रै आउला ।

पहिला घरदेश अनि परदेशको अर्थ के हो ?

यसलाई विभिन्न तवरले बुझ्न सकिन्छ । कन्दरा ब्याण्ड आफै पोखरेली ब्याण्ड हो । पोखराबाट स्थापित ब्याण्ड भएकाले सुरुमा हामीले पोखराबाट नै लाइभ कन्सर्टको सुरुवात गर्यौं । पोखरा लगतै देशका सातै प्रदेशमा हामी पुग्छौ । त्यसपछि मात्र विदेशको यात्रा सुरुवात हुन्छ । पोखरा पर्यटकीय शहर हो । संगीत मार्फत आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने अभियान अनुरुप हामी अग्रसर भएर लागिरहेका छौं ।

कन्दरासँग आदिग्रुपको समन्वय कस्तो हो ?

सात आठ वर्ष अगाडि देखिकै सहयात्रा हो । भेडीगोठैमा भन्ने एल्बम देखि नै जुटिरहेका छौं । अडियो प्रोडक्सनबाट हाम्रो सम्बन्ध गासियो । अहिलेको हाम्रो लक्ष्य भनेको आदिग्रुपले कन्दरालाई व्यवस्थापन गर्ने हो । सिक्ने क्रम जारी नै छ । पोखराको कार्यक्रम हाम्रो लागि मापक हुन्छ ।

लाइभ कन्सर्टका विषयमा आम दृष्टिकोण कस्तो पाउनुभएको छ ?

कतिलाई थाहा थिएन होला म नेपालमा छु भनेर । एक प्रकारले हामी कन्दरामा नै बसिरहेका थियौं । गृहकार्य भइरहेको थियो । अहिले सबैलाई भेटघाट गर्ने समय जुर्यो । कन्दराको उद्देश्य भनेको गीत निकाल्ने हिट बनाउने तर्फ होइन । भाइरलको पछाडि हामी लाग्दैनौ । संगीतमा अभियान जोडेर अगाडि बढ्ने लक्ष्य हो । त्यसैले धेरैले कन्दराको लाइभ कन्सर्टलाई सकरात्मक लिनुभएको छ । सरकारी निकायबाट समेत साथ समर्थन भएको छ ।

पौष २७ गतेको सेड्युल के छ ? समयमा नै कार्यक्रम सुरु हुन्छ त ?

हाम्रो कार्यक्रम साँझ ५ बजे नै सुरु हुन्छ । ५ बजे लक्ष्य ब्याण्डले प्रस्तुति राख्छ । अलिक साँझ परेपछि कन्दरा ब्याण्डको प्रस्तुति रहनेछ । दुई घण्टाको समयअवधि भित्र नयाँ पुरानो गरि १५ वटा गीत प्रस्तुत हुनेछ । ३ बजेबाट प्रदर्शनी केन्द्र नयाँबजारको गेट खुला हुने भएकाले दर्शकलाई अलिक छिटो आउनुहुन अनुरोध गर्दछौं ।

कन्दराले प्रस्तुत गर्ने गीत पुरानै हुनेछ वा नयाँ पनि के आउँछ ?

हामीले ३० वर्ष अगाडि बनाएका गीतहरु सँगै नयाँ गीत पनि प्रस्तुत गर्नेछौं । ‘तिमी पारी, लेककी हे माया, हङकङ पोखरा, विदेशिएर गइन्, तगारोमा रुमाल’ राखी जस्ता गीत प्रस्तुत नगरी त कन्दरालाई सुखै छैन । सँगै पछिल्लो समय निकालिएको ‘विचरा म’ जस्ता गीतहरु समेत प्रस्तुत हुनेछन् । यति भनिरहँदा कन्दरालाई पुरानै गीतको ब्याज खाने हो भन्न चाहिँ मिल्दैन । ३० वर्ष अगाडि जुनसुकै ब्याण्डले पनि पुरानो गीत गाएर नै स्टेज शो गरिरहेका छन् । त्यसबाट हामी पनि अछुतो रहन सक्दैनौं ।

ब्याण्डमा टीम फर्मेसन किन ?

कन्दरा ब्याण्डको सुरुदेखि नै टीम फर्मेसनमा आरोह अवरोह चलिरहेको छ । सुरुवातकालिन समयमा भएका साथीहरु बीचमा रहनुभएन । तर त्यसमा सुनील थापा र बिबेक श्रेष्ठ रहिरहयो । त्यसपछि पोखराकै नयाँ साथीहरु जोडिनुभयो । जससँग देश विदेशमा थुप्रै कार्यक्रम गर्ने अवसर मिल्यो । अहिले कन्दरा ब्याण्डको व्यवस्थापनको पक्ष आदिग्रुपले सम्हालिरहेको छ । व्यवस्थापकिय पक्ष मिलाउनलाई पनि नयाँ टीम फर्मेसन भएको हो ।

अब सुरमा कन्दरा निरन्तर बगीरहन्छ ?

हामी त निरन्तर बग्न आएका हौं । तर यसको जिम्मेबारी आम दर्शक स्रोतामा पनि छ । उहाँहरुले हाम्रा सिर्जनालाई कसरी लिनुहुन्छ त्यसमा फरक पर्छ । बिबेक श्रेष्ठलाई नेपालमा नै राखिराख्नका लागि हामीले गरेका कार्यक्रमहरुमा दर्शकको साथ कस्तो रहन्छ त्यसमा भर पर्छ । नेपालमा बसेर संगीतबाहेक अरु केही सोच्न सक्दिन । कन्दरालाई ब्युताउन पनि मिडिया सँगै दर्शकहरुको खाँचो उत्तिकै छ । आशा छ यसमा हामी सफल हुनेछौं ।

अन्त्यमा आम दर्शकलाई के भन्नुहुन्छ ?

पोखरामा हुने कन्दरा लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । समय कम भएकाले धेरै ठाउँमा पुग्न पनि असमर्थ छु । त्यसैले तपाईको मिडिया मार्फत नै आम पोखरेली संगीत अनुरागीहरुलाई नयाँबजार प्रदर्शनी केन्द्रमा उपस्थित भएर कार्यक्रम अवलोकन गरिदिनुहुन अनुरोध गर्दछु । कन्दराको इतिहासमा नै यो पहिलो पटक गर्न लागिरहेको कार्यक्रम भएकाले पोखरेलीको माया पाउनेमा विश्वस्त छु ।

Leave A Reply

Your email address will not be published.