काठमाडौं : नेपाली म्युजिक भिडियो निर्देशनमा एक हजारभन्दा बढी काम गरिसकेका निर्देशक विभोर पोखरेल अब भने फिल्म निर्देशनमा डेब्यु गर्दैछन्। उनले निर्देशन गरेको पहिलो चलचित्र ‘रियाल रिङ्गेट’ यही साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।
फिल्मको नाम नै विदेशिएका नेपालीहरूको जीवन कथा बोकेको छ। ‘रियाल’ साउदी र कतारको तथा ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो। फिल्मले गल्फ मुलुक गएका नेपालीहरूका संघर्ष, सपना र यथार्थ चित्रण गर्ने उद्देश्य राखेको निर्देशक पोखरेल बताउँछन्।
उनका अनुसार,‘हामीले देख्ने भनेको रेमिट्यान्स आएको मात्र हो। तर त्यो रेमिट्यान्स भित्रिन नेपालीहरूले विदेशमा कति दुःख गरेका छन्, त्यो देखिँदैन।’
नेपालसँगै भारतको राजस्थानमा छायांकन गरिएको यो फिल्म बिकानेरको मरुभूमिमा समेत खिचिएको छ। फिल्मको महत्वपूर्ण दृश्य खिचिएका छन्, जुन समयमा त्यहाँको विधानसभाको चुनावका कारण सुरक्षा चुनौतीहरू पनि सामना गर्नुपरेको निर्देशक पोखरेलको भनाई छ। पोखरेलका अनुसार, यो फिल्म विशेषगरी मध्यमवर्गीय र निम्न आर्थिक अवस्था भएका परिवारका तर्फ लक्षित छ, जसका परिवारका सदस्य वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन्।
उनले अझ स्पष्ट पार्दै भनेका छन,‘देशको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाले नै ‘रियाल रिङ्गेट’ जस्ता फिल्म बनाउने प्रेरणा दिएको हो।’
यो पोखरेलको पहिलो रिलिज हुने फिल्म भए पनि निर्देशन अनुभव भने नयाँ होइन। उनी १४ वर्षअघि नै एउटा फिल्म निर्देशन गरिसकेका थिए, तर त्यो फिल्म रिलिज हुन सकेन। त्यसपछि निरन्तर म्युजिक भिडियोमा सक्रिय रहँदै उनले ‘मान्छे रहेछौँ खली’, ‘जिन्दगीले हिसाब माग्छ’, ‘बोल्दैन तिम्रो तस्बिर’ लगायत चर्चित गीतहरू निर्देशन गरेका छन्।
पोखरेलले निर्देशनसँगै गीत लेखन र स्क्रिप्ट लेखनमा पनि रुचि राख्ने बताएका छन्। उनले फिल्म रिलिजपछिको प्रतिक्रिया हेरेर आफ्नै लेखनमा आधारित अर्को फिल्म बनाउने संकेतसमेत दिएका छन्।
‘रियाल रिङ्गेट’ रेबल क्रिएसनको ब्यानरमा निर्माण भएको हो। फिल्ममा खाडी मुलुक गएका नेपालीहरूको जीवनशैली, आशा, प्रेम, धोका र पारिवारिक विछोडको कथा देखाइएको छ। पोखरेलका अनुसार, यो फिल्म केवल सिनेमाको कथा होइन, लाखौँ नेपालीहरूको जीवनको ऐना हो।