सुचना, समाचार र मनोरन्जन

‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, वैदेशिक रोजगारीको यथार्थ चित्रण

काठमाडौं :

नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्नुपरेको संघर्ष, पीडा र संकटको कथा उजागर गरेको छ।

श्रमिकहरू आतंककारी कब्जामा परेको, बन्धक बनिएको, र नेपाल फर्कने आशामा बनाइएका भिडियो सन्देशको दृश्यहरूले दर्शकको मन छोएको प्रतिक्रिया आइरहेका छन्। ट्रेलरमा चलचित्रका प्रमुख कलाकार प्रमोद चौलागाईंले आतंककारीको कब्जामा रहेका बेला नेपाल पठाएको सन्देश टेलिभिजनमा प्रशारण भइरहेका दृश्यहरू समावेश छन्।

चलचित्रका निर्देशक विभोर पोखरेलका अनुसार ‘रियाल रिङ्गेट’ केवल एउटा कथा नभई हरेक नेपालीको जीवनको प्रतिबिम्ब हो। “चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीको यथार्थ जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको छ,” निर्देशक पोखरेलले बताएका छन्।

फिल्मको शीर्षक नै प्रतीकात्मक छ — ‘रियाल’ साउदी अरेबिया र कतारको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको। यी मुलुकहरू वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य भएकाले शीर्षकले नै फिल्मको विषयवस्तु संकेत गर्छ।

चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, र चभबच राय लगायतका कलाकारको अभिनय रहेको छ। प्रदीप भारद्वाजले कथा लेखेका हुन्। फिल्मको छायांकन भारतको राजस्थान, चितवन, काठमाडौं र लेटाङमा गरिएको हो।

रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा राजीव समरको कोरियोग्राफी रहेको फिल्ममा संगीत रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको रहेको छ।

गीतमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर समावेश छ भने अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले शब्द रचना गरेका छन्। चलचित्रको वितरण जिम्मा काफिया फिल्म्सले लिएको छ।

Leave A Reply

Your email address will not be published.