सुचना, समाचार र मनोरन्जन

जनआवाज र राजनीतिक खेलबाडको कथा बोकेको ‘बिगुल’को ट्रेलर बाहिरियो

काठमाडौं :

नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाजलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘बिगुल’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ।

रमेश कोइरालाको निर्देशनमा तयार भएको करिब तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीचको विचारगत मतभेद,जिम्मेवारीबोध तथा निमुखा जनतामाथि राजनीतिक नेतृत्वले गर्दै आएको खेलबाडलाई प्रस्तुत गरिएको छ।

देश र जनतालाई पटक–पटक धोका दिँदै आएको राजनीतिक नेतृत्व र त्यसविरुद्ध आवाज उठाउने नयाँ पुस्ताबीचको टकरावलाई केन्द्रमा राखिएको ‘बिगुल’ले समाजमा हलचल ल्याउने संकेत ट्रेलरमार्फत दिएको छ। देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा फिल्मले उठान गरेका विषयवस्तुले सही नेतृत्व चयन गर्न जनमानसलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

ट्रेलरमा अभिनेत्री बेनीशा हमाल, अभिनेता नरेन खड्का र विनोद न्यौपानेले युवा पुस्ताको भावना प्रभावशाली ढंगले सम्प्रेषण गरेका देखिन्छन्।

दिनेश कोइरालाको कथा तथा निर्माण, कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माताको रूपमा रहेका छन्। कलाकारका रूपमा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी र मानस्री शर्माको अभिनय रहेको छ। रविन्द्र खड्का विशेष भूमिकामा देखिनेछन् भने मिरा पण्डितले नायिकाका रूपमा डेब्यु गरेकी छन्।

शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्म आगामी माघ ९ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउनेछ । फिल्मका गीतमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ। फस्टलुक पोस्टर, टिजर र गीत सार्वजनिक भएसँगै चर्चामा रहेको ‘बिगुल’ले मनोरञ्जनसँगै समाज र देशप्रति आमनेपालीलाई सचेत र सजग बनाउने विश्वास निर्देशक रमेश कोइरालाले व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.