सुचना, समाचार र मनोरन्जन

विक्रम राईको स्मृतिमा श्रद्धाञ्जली सभा, जीवनकथामा आधारित भिडियो सार्वजनिक

काठमाडौं :

स्वर्गीय गायक तथा संगीतकार विक्रम राईको पहिलो स्मृति सभा सोमबार बिहान काठमाडौंको कपनस्थित निवासमा आयोजना गरिएको छ। उनकी प्रेमिका अर्जुना राईको आयोजनामा सम्पन्न स्मृति सभामा नेपाली सांगीतिक क्षेत्रका दर्जनौं कलाकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी गायक–गायिकाले विक्रम राईले गाएका चर्चित गीतहरू प्रस्तुत गर्दा वातावरण भावविह्वल बनेको थियो। उपस्थित कलाकारहरूले गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल राख्ने विक्रमको नेपाली सांगीतिक क्षेत्रमा रहेको योगदानको चर्चा गरेका थिए।

स्मृति सभाकै अवसरमा विक्रम राईको स्वर तथा संगीत रहेको गीत ‘कुलुलु बग्ने’को भिडियो सार्वजनिक गरिएको छ। ईश्वर चाम्लिङको शब्द, देवेश राईको एरेन्ज रहेको उक्त गीतको भिडियो उनको जीवनकथामा आधारित छ। भिडियोमा बेदना राई र सरोज खालिङ राईको अभिनय रहेको छ भने निर्देशन राजेश पुमाले गरेका हुन्। उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन रहेको भिडियो अर्जुना राईले निर्माण गरेकी हुन्।

खोटाङका स्थायी बासिन्दा विक्रम राईको गत वर्ष फागुन १८ गते ३१ वर्षको अल्पायुमै निधन भएको थियो। डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका उनले सयौं गीतमा स्वर तथा संगीत दिएका छन्। ‘हौवा हौ दर्शन नमस्ते’, ‘तिमीले बाटो फेर्‍यौ अरे’ (भाग २ र ३) तथा ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम’ (मेल भर्सन) लगायत उनका गीतहरू चर्चित छन्।

Leave A Reply

Your email address will not be published.