जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले डेढ अर्ब रुपैयाँभन्दा धेरै अग्रिम भुक्तानी दिएका छन् । बीमा प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीले उक्त रकम अग्रिम भुक्तानी दिएका हुन् ।
२३ र २४ भदौमा भएको जेजजी आन्दोलन क्रममा आगजनी, तोडफोडका कारण भएको क्षतिमा दाबी परेको रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिन प्राधिकरणले निर्देशन दिएको थियो ।
सोही अनुसार बीमा कम्पनीले आवश्यक मूल्यांकन गरी १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका हुन् । तर, प्राधिकरणका अनुसार हालसम्म उक्त आन्दोलनमा आफ्नो सम्पत्तिमा क्षति पुगेको भन्दै बिमितले २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी गरेका छन् ।
प्राधिकरणका अनुसार उक्त अग्रिम दाबी भुक्तानी १४ बीमा कम्पनीले मात्र गरेका छन् । सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार ९९ बिमितले दाबी भुक्तानी माग गरेका छन् ।
तीमध्ये राष्ट्रिय बीमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले २३ असोजसम्म कुनै पनि दाबीको अग्रिम भुक्तानी गरेका छैनन् ।
तर, सबैभन्दा धेरै माग दाबी परेको सिद्धार्थ इन्स्योरेन्सले ५९ करोड ४४ लाख रुपैयाँ अग्रिम भुक्तानी दिएको प्राधिकरणले जनाएको छ । ५ अर्ब २४ करोड रुपैयाँ बराबर माग दाबी परेको द ओरिएन्टल इन्स्योरेन्सले भने ५ लाख ७० हजार रुपैयाँ मात्रै अग्रिम भूक्तानी दिएको छ ।
प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा क्षति भएका सम्पत्तिमध्ये बीमा भएका ६ सय ५३ सम्पत्ति बीमा, २ हजार २ सय २० मोटर बीमा, इन्जिनियरिङ तथा ठेकेदार बीमा १ सय ९० , परिवहन बीमा १२ र अन्य बीमा ३८ गरी कुल ३ हजार ९८ माग दाबी परेको हो ।
माग दाबी परेको रकम अनुसार सबैभन्दा धेरै सम्पत्ति बीमाको रहेको छ । उक्त शीर्षकमा १९ अर्ब ६ करोड ७६ लाख बराबर माग दाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।
जेनजी आन्दोलनमा बागमती प्रदेशबाट माग दाबी धेरै परेको छ । बागमतीबाट कुल १७ अर्ब ४८ करोड बराबर माग दाबी परेको प्राधिकरणको भनाइ छ ।