पोखरा,
व्यवसायमा सफल हुन ठूलो पुँजी, पारिवारिक विरासत वा अनुकूल परिस्थिति नै चाहिन्छ भन्ने छैन। कहिलेकाहीँ एउटा सामान्य सोच, सानो प्रयास र निरन्तरको मेहनतले पनि जीवनको दिशा बदल्न सक्छ। पोखराकी युवा उद्यमी बिन्जुल श्रेष्ठ यसको उदाहरण हुन्, जसले आफ्नी छोरीलाई घरमै तयार पारेको लिटो खुवाउँदै गरेको एउटा सामान्य भिडियोबाट व्यावसायिक यात्रा सुरु गरिन्। आज त्यही प्रयास उद्योगमा विस्तार भएको छ। उनको उद्यमले २७ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ।
कोरोना महामारीले विश्वलाई घरभित्रै सीमित बनाएको समय थियो। व्यापार व्यवसाय ठप्प थिए, रोजगारीका अवसर खुम्चिएका थिए र दैनिक जीवन नै अनिश्चित बनेको थियो। स्टाफ नर्स अध्ययन गरेकी बिन्जुल पनि एक वर्षकी छोरीको स्याहारमा व्यस्त थिइन्। घरबाहिर गएर काम गर्ने परिस्थिति सहज थिएन। तर, उनले परिस्थितिलाई बाधा मात्र ठानिनन्, सम्भावना खोज्ने अवसरका रूपमा लिइन्।
छोरीलाई घरमै तयार पारेको लिटो खुवाउँदै गरेको एउटा भिडियो उनले टिकटकमा राखिन्। सामान्य पारिवारिक क्षणका रूपमा खिचिएको त्यो भिडियोले उनको जीवनमा नयाँ सम्भावनाको ढोका खोलिदियो। भिडियो हेरेका चार जनाले आफूहरूका लागि पनि त्यस्तै लिटो बनाइदिन आग्रह गरे। उनीहरू त्यसका लागि पैसा तिर्नसमेत तयार भए।
त्यही चारवटा अर्डर बिन्जुलको उद्यमशील यात्राको पहिलो पाइला बन्यो।
चार प्याकेटबाट सुरु भएको ‘मामुछोरी लिटो’
अर्डर त आयो, तर उत्पादन तयार पार्न आवश्यक सामग्री किन्न पैसा थिएन। व्यवसाय सुरु गर्न ठूलो लगानी जुटाउने अवस्था पनि थिएन। तर, बिन्जुलसँग काम गर्ने इच्छा, ग्राहकको विश्वास जित्ने आत्मविश्वास र आफ्नै उत्पादनप्रतिको भरोसा थियो।
उनले ग्राहकबाट अग्रिम भुक्तानी लिइन्। त्यही रकमबाट आवश्यक सामग्री किनिन्, आफैँ लिटो तयार पारिन् र पहिलो चारवटा अर्डर पूरा गरिन्। यसरी जन्मियो ‘मामुछोरी लिटो’।
सानो प्रयासबाट सुरु भएको व्यवसायले विस्तारै ग्राहकको विश्वास जित्दै गयो। सामाजिक सञ्जालबाट प्राप्त हुने अर्डर बढ्न थाले। उत्पादनको गुणस्तर र व्यवस्थापनमा ध्यान दिँदै अघि बढेकी बिन्जुलले घरबाट सुरु गरेको कामलाई व्यवस्थित उद्योगका रूपमा विकास गरिन्।
उनका अनुसार, ‘मामुछोरी लिटो’ ले अहिले आईएसओ प्रमाणीकरणसमेत प्राप्त गरेको छ। उत्पादन गाउँदेखि सहरसम्म विस्तार हुनुका साथै ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्न थालेको छ।
बिन्जुलको यो यात्राले व्यवसायको सुरुवातका लागि ठूलो लगानीभन्दा पनि उपलब्ध स्रोतको सदुपयोग, ग्राहकको आवश्यकता पहिचान र निरन्तरको प्रयास महत्त्वपूर्ण हुने देखाउँछ।

आफ्नो व्यवसायसँगै २७ जनाको रोजगारी
छ वर्षअघि सुरु भएको ‘मामुछोरी लिटो’ आज बिन्जुलको व्यक्तिगत आम्दानीको माध्यममा मात्र सीमित छैन। यसले २७ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। उनको व्यवसायसँग जोडिएका कर्मचारीका परिवारका लागि पनि यो आम्दानीको स्रोत बनेको छ।
‘यो मेरो मात्र व्यक्तिगत सफलता होइन, २७ परिवारको आर्थिक आयआर्जनको स्रोत पनि हो,’ उनी भन्छिन्।
उद्यम विस्तारसँगै बिन्जुलले महिलाबीच सहकार्य र सामूहिक लगानीको सम्भावनालाई पनि अघि बढाएकी छन्। एक सय महिलाको सहभागितामा अघि बढाइएको ‘सिस्टरहुड’ मा समेत उनले लगानी विस्तार गरेकी छन्।
महिलाहरूबीच आपसी सहकार्य, सामूहिक लगानी र आर्थिक आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने उद्देश्यले अघि बढाइएको यस प्रयासले उद्यमशीलतामा महिलाको सहभागिता थप विस्तार गर्न सक्ने उनको विश्वास छ।
पारिवारिक जिम्मेवारीलाई बाधा होइन, सम्भावना बनाउने सोच
बिन्जुलको कथा व्यवसाय सुरु गर्न अनुकूल समय, पर्याप्त पैसा वा सबै परिस्थिति मिल्नैपर्छ भन्ने सोचभन्दा फरक छ। सानो बच्चाको स्याहार, आर्थिक अभाव र महामारीको प्रतिकूल परिस्थितिका बीच उनले सम्भावना खोजिन्। आफूसँग भएको सीप र स्रोतलाई उपयोग गरिन्। ग्राहकको मागलाई व्यवसायमा बदलिन् र त्यसलाई क्रमशः उद्योगको स्वरूप दिइन्।
उनको अनुभव विशेषगरी बालबालिका हुर्काउँदै गरेका महिला, पारिवारिक जिम्मेवारीका कारण घरबाहिर काम गर्न नसकेका व्यक्ति तथा आर्थिक अभावले आफ्ना सपना पूरा गर्न नसकेको महसुस गर्ने युवाका लागि प्रेरणादायी छ।
रोजगारीका लागि विदेशिने युवालाई पनि स्वदेशमै उद्यम र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छिन् उनी।
‘रोजगारीको खोजीमा विदेशिने युवाहरूलाई आफ्नै ठाउँमा उत्पादन र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्न सकेँ कि जस्तो लाग्छ,’ बिन्जुल भन्छिन्।
उनको सफलताको आधार कुनै ठूलो लगानी वा तयार व्यावसायिक संरचना थिएन। छोरीका लागि तयार पारेको पोषिलो लिटो, त्यसलाई मन पराउने ग्राहक र आएको मागलाई अवसरमा बदल्ने साहस थियो।
एउटा सामान्य भिडियोबाट सुरु भएको यात्रा आज उद्योग, रोजगारी र महिला उद्यमशीलतासम्म विस्तार भएको छ। बिन्जुल श्रेष्ठको कथा केवल एक व्यवसायीको सफलताको कथा होइन, अभावका बीच पनि सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरण हो। यसले सफलता सधैँ ठूलो अवसरबाट सुरु हुँदैन, कहिलेकाहीँ आफ्नै घरको एउटा सानो कोठाबाट पनि नयाँ भविष्यको सुरुवात हुन सक्छ भन्ने सन्देश दिन्छ।