पोखरा/
नेपाली संगीत र चलचित्र क्षेत्रमा सक्रिय, मेहनती तथा बहुप्रतिभाशाली गायक विनोद बानियाँको स्वर र संगीत रहेको नयाँ गीत ‘ठक्कर’ सार्वजनिक भएको छ। गीतकार तथा चलचित्र निर्माता अविरल थापाले रचना गरेको यस गीतमा चर्चित अभिनेता राजवल्लभ कोइराला को दमदार अभिनय देख्न सकिन्छ।
यस गीतको म्युजिक भिडियो सिद्धार्थ पुडासैनीको निर्देशनमा तयार पारिएको हो, जुन उत्कृष्ट सिनेमाटोग्राफीसहित प्रस्तुत गरिएको छ। अवेकन प्रोडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा समाजमा बढ्दै गएको मानसिक तनाव, निराशा, अवसाद, हत्या, तथा आत्महत्याजस्ता समस्यालाई निरुत्साहित गर्दै आशा, हिम्मत र सकारात्मक ऊर्जाको सन्देश दिन खोजिएको छ।
गायक विनोद बानियाँ सन् २००० मा ‘माया देखायौ कति सजिलै’ बोलको गीतमार्फत सांगीतिक यात्रा सुरू गरेका थिए। पोखरामा रहेर निरन्तर संगीत साधनामा लागिरहेका बानियाँ बहुप्रतिभाशाली गायक तथा संगीतकार हुन्। उनका विभिन्न कालजयी गीतहरूले नेपाली संगीतमा छुट्टै पहिचान बनाएका छन्।
यस गीतका गीतकार तथा निर्माता अविरल थापा यसअघि चलचित्र ‘साँघुरो’ का लागि ‘आउँदैछु कि जाँदैछु’, शिशिर योगीको स्वरमा रहेको ‘आफ्नै देशमा बस साथी’, प्रमोद खरेलको स्वरमा ‘यो झरीमा तिमीसँगै’, तथा युनिटी ब्यान्डको ‘आशा अझै मरेको छैन’ जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन्। उनी बहुचर्चित चलचित्र ‘बुलबुल’ का निर्माता तथा शिक्षण क्षेत्रमा आवद्ध व्यक्तित्व हुन्।
यसैगरी, नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका अभिनेता राजवल्लभ कोइराला हाल अमेरिकामा रहेका छन्। नेपाल फर्कने क्रममा उनले यस म्युजिक भिडियोको छायांकन गरेका थिए। कोइराला हालै ‘औरा’ कविता संग्रह बजारमा ल्याइसकेका छन्।
गायक बानियाँ, गीतकार थापा, र अभिनेता कोइराला पुराना साथी हुन्। तीनजनाको पुनर्मिलनसँगै आएको यस प्रेरणादायी गीत ‘ठक्कर’ ले दर्शक-श्रोताको मन जित्नेमा उनीहरू विश्वस्त छन्।
ठक्कर: केवल गीत मात्र होइन, सकारात्मक सोचको सन्देश!