सुचना, समाचार र मनोरन्जन

विपना थापाको जन्मदिनमा ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ गीत सार्वजनिक

काठमाडौँ :

फिल्म ‘आ बाट आमा’ की मुख्य अभिनेत्री विपना थापाको जन्मदिनको अवसर पारेर फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत गीत रिलिज गरेको हो।

गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री विपना थापा, अभिनेता पल शाह, सिम्रन पन्त, उषा उप्रेतीसहित फिल्मको सम्पूर्ण टिमको उपस्थिति रहेको थियो। विपनाको जन्मदिनको अवसरमा केक काट्दै निर्माण पक्षले गीत सार्वजनिक गरेको हो।

गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल र गजित बिष्ट लगायत कलाकारलाई देख्न सकिन्छ। परदेशिएको छोराको वेदना र आमाको माया–ममतालाई गीतको भिडियोमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

यस भावनात्मक गीतमा बाबुल गिरीको शब्द र संगीत रहेको छ भने रबी ओडको स्वर सुन्न सकिन्छ। गीतको भावअनुसार नै भिडियो निर्माण गरिएको देखिन्छ, जहाँ सन्तानप्रतिको प्रेम, ममता र स्नेहको कथा फिल्मले स्पष्ट रूपमा बोल्छ।

गीत रिलिज कार्यक्रममा निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए।  उनले भने, “यो मेरो ड्रिम प्रोजेक्ट हो, जसलाई हामीले निकै सफलताका साथ तयार गरेका छौँ। सुटिङ सुरु गर्नुअघि नै म यो फिल्म र यो टाइटल गीतलाई आफ्नो सपनाको परियोजना भन्थेँ। आज यही गीत सार्वजनिक गर्न पाउँदा खुशी लागेको छ। दर्शकले मन पराइदिनुहुनेछ भन्ने आशा छ।”

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको छायाङ्कन नवराज उप्रेतीले गरेका हुन्। फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ भने गीतहरूको कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्।

फिल्मका संवाद अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तले संयुक्त रूपमा लेखेका हुन्। लगानीमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना रहेका छन् भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्। ट्रेलर तथा टिजर सम्पादन साहिल खानले गरेका छन्।

यसअघि सार्वजनिक गरिएको टिजर र पोस्टरले दर्शकमाझ फिल्मप्रति उत्सुकता जगाइसकेको छ। फिल्मको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। फिल्म आगामी माघ १६ गतेदेखि अल नेपाल रिलिज हुने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.