काठमाडौँ,
हिजो बेलुका परेको पानीले बन्द रहेको बिपी राजमार्गमा गाडी चल्न थालेका छन् ।
बिपी राजमार्गको भकुण्डे–नेपालथोकमा खण्डमा हिजो ठूलो पानी परेकाले रोशी खोलामा पानीको बहाब बढेको थियो । राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले गाडी चलाउन रोक लगाएको थियो ।
मौसममा सुधार आएसँगै बिपी राजमार्गमा दुई तर्फी नै आवागमन शुरु गरिएको तर यात्रु र चालकलाई सुरक्षित तरिकाले यात्रा गर्न आग्रह गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए ।
यसअघि गएको शुक्रबार रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध भएको थियो । अघिल्लो वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर सञ्चालन हुँदै आएको छ ।