सुचना, समाचार र मनोरन्जन

पर्यटकलाई बास बस्ने सुविधासहित नवनिर्मित बीरेठाँटीको उद्घाटन

पोखरा ।

नवनिर्मित बीरेठाँटी समुदघाटन गरिएको छ । म्हिगी कोने गुठी अन्नपूर्ण गाँउपालिका वडा नं.८ बीरेठाँटीको आयोजनामा भएको कार्यक्रममा नवनिर्मित ठाँटी उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिँदै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले ऐतिहासिक महत्व बोकेको बीरेठाँटीमा निर्मित भवनको उदघाटन गर्न पाउँदा खुशी लागेको उल्लेख गरे ।

“बीरेठाँटी ऐतिहासिक महत्व बोकेको ठाउँ हो । पदमार्ग हुँदै मुक्तिनाथ सम्म पुग्ने पर्यटकको बासस्थानका लागि यो थलो महत्वपूर्ण छ । ठाँटीको स्थापनाले पर्यटकको बसोबासमा अझ सहजता मिल्नेछ ।”, उनले भने ।

बीरेठाँटीको बजार व्यवस्थापन र पर्यटनलाई बढ्वा दिन स्थानीय सँग मिलेर काम गर्ने प्रतिबद्धता अध्यक्षको छ ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले बीरेठाँटीमा थकालीहरुले बजार व्यवस्थापन गरेको बताए । “थकालीहरुले बीरेठाँटी बजारको व्यवस्थापन गरे । त्यसपछि यहाँ अन्य समुदायको बसोबास बढ्दै गयो । अन्नपूर्ण सर्किट पदमार्गका लागि बीरेठाँटी महत्वपूर्ण छ ।”, उनले भने । नवनिर्मित ठाँटीले पर्यटन प्रवद्र्धनमा बढ्वा मिल्नेमा उनी आशावादी छन् ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सुरेन्द्र गुरुङले म्हिगी कोने गुठी परिवारले पुर्नमिलनको कार्यक्रम राखेर सह्रानिय काम गरेको बताए । उनले बीरेठाँटीलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन स्वर्गीय बीरे म्हिगी कोनेले गरेको योगदानलाई भुल्न नहुने बताए । मुक्तिनाथ जाने पदमार्गको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

अन्नपूर्ण गाउँपालिका वडा नं. ८ का अध्यक्ष विजय गुरुङले दान गरेको जमिनमा ठाँटी निर्माण गरिएको हो । नवनिर्मित बीरेठाँटी निर्माणले आफ्नो वडाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनको छ । वडाले समेत उक्त ठाँउमा पर्यटनलाई बढ्वा दिन सहयोग गर्ने उनले उल्लेख गरे ।

उपाध्यक्ष ल्याप्टेन अर्जुन बहादुर गुरुङले कार्यक्रमको स्वागत गर्दै तत्कालिन समयमा अहिले जस्तो होटल लजको व्यवस्था नभएको र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुहरुलाई बास बस्न सुविधा होस् भन्दै ठाँटी निर्माण गरिएको जानकारी गराए । उनका अनुसार अन्नपूर्ण गाउँपालिका ८, दाङसिङ मोहरियाका बीरे म्हिेगी कोनेले मोदी र भुरुम्दी नदीको दोभानमा वि.सं.१७७६ मा ठाँटी निर्माण गरेका हुन् ।

सामाजिक उद्देश्य बोकेर पर्यटकका लागि बीरे भन्ने व्यक्तिले ठाँटी निर्माण गरेकाले त्यस ठाउँको नाम बीरेठाँटी रहन गएको उनले बताए । वि.सं. १९९२ सालमा जम्दार ज्ञानी म्हिगी कोनेद्वारा जिर्णोद्वार गरिएको थियो । त्यसपछि क्या.चीन बहादुर म्हिगी कोनेको नेतृत्वमा वि.सं. २०४७ सालमा बीरेठाँटी पुननिर्माण गरियो । पछिल्लो समय विभिन्न कारणबाट उक्त ठाँटी असुविधा हुन गएको र ठाँटीको नाउँमा लालपुर्जा प्राप्त हुन नसक्दा हाल आएर नयाँ ठाँटी निर्माण गरिएको बताइएको छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, पूर्वमन्त्री प्रकाश बहादुर गुरुङ, वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ लगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.