काठमाडौं :
लेखक तथा निर्देशक विशाल सापकोटाको सर्ट फिल्म ‘वन इन अ मिलियन’ युट्युबमार्फत रिलिज गरिएको छ। सुनिता भण्डारीको लगानीमा तयार भएको यो छोटो चलचित्रले हिँडेरै अमेरिका पुग्ने नेपाली युवाहरूको संघर्ष र त्यहाँको यथार्थलाई कथाको केन्द्रमा राखेको छ।
फिल्मका छायाकार रामेश्वर कार्की हुन् भने मुख्य भूमिकामा हसन राजा खान देखिएका छन्। अमेरिकामा बसोबास गर्दै आएका कलाकार सुभाष थापा सहित नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले पनि फिल्ममा अभिनय गरेका छन्।
संवादबिना निर्माण गरिएको यो सर्ट फिल्मले दृश्य र कलाकारको अभिनयमार्फत कथा बोल्ने प्रयास गरेको छ। निर्देशक सापकोटाका अनुसार, फिल्मले विदेशिने सपना, जोखिम र त्यसपछि देखिने कठोर वास्तविकता उजागर गर्छ।
‘वन इन अ मिलियन’ हालै ‘इजिप्टियन अमेरिकन फिल्म फेस्टिभल–२०२५’ र ‘फिल्ममेकर सिजन भोल्युम ११–२०२५’ मा पनि आधिकारिक रूपमा छनोट भइसकेको छ। युट्युब रिलिजपछि छोटो फिल्मले नेपाली र अन्तर्राष्ट्रिय दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।