सुचना, समाचार र मनोरन्जन

विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

जनकपुरधाम,

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ ।

आज साँझ जानकी मन्दिर छेउको विवाहमण्डपस्थित फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ । यस अवसरमा राम, लक्ष्मण र जानकीका स्वरूपमा सिँगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने परम्परा छ ।

त्रेता युगमा गुरु विश्वामित्रसँग धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट जनकपुर आएका राम र लक्ष्मण फूलबारी घुम्न पुगेका बेला राम र सीताको पहिलो नजर भेट भएको थियो । यही क्षणबाट एक–अर्काप्रतिको आकर्षण सुरु भएको र जानकीले राम जस्तै बर पाउने कामना गरेको जनकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

बिहीबार महोत्सवको पहिलो दिन राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगरदर्शन गराइएको थियो । भोलि बिहीबार तिलकोत्सव मनाइने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.