काठमाडौं :
यतिबेला चलचित्र विकास बोर्ड को बन्ला भन्ने फिल्मकर्मीको चासोको विषय बनेको छ। गत साउन ९ गते अभिनेता भुवन केसीको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उक्त पदका लागि ६ जना फिल्मीकर्मीको आवेदन परेको छ। करिश्मा मानन्धर, दिनेश डिसी, राजेश थापा, दीपा बस्नेत, अर्जुनकुमार डंगोल र प्रकाश भट्टराईले अध्यक्षका लागि आवेदन दिएका हुन्।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सञ्चार मन्त्रालयले आवेदन मागेको थियो। हिजो बुधबार समयसीमाभित्र रहेर ६ जनाले आवेदन दिएका छन्। बोर्डको अध्यक्ष पदका लागि कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेर नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा दश वर्ष कार्य गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा कम्तीमा दश वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड रहेको छ। सोही बमोजिम ६ जनाले आफु अध्यक्ष पदका लागि योग्य रहेको भन्दै आवेदन दिएका हुन्।
यसपटक आवेदन दिएकामध्ये एमाले निकट फिल्मकर्मीमध्ये एकजना बोर्डको अध्यक्ष बन्नेछन्। यसमा सबैभन्दा पहिला सम्भावना बोकेको सञ्चारकर्मी समेत रहेका दिनेश डिसी र अभिनेत्री करिश्मा मानन्धरमध्ये एक जना हुने हल्ला छ। बोर्ड अध्यक्षका लागि पहिला आवेदन दिनेमा दिनेश नै रहेको थिए। प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नजिक रहेको डिसी र मानन्धर रहेका छन्। उनीहरु दुवै जना यतिबेला एमालेका केही शीर्ष नेतासँग पटकपटक भेट गरिसकेका छन्।