पानी परेपछि रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजोदेखि अवरुद्ध बीपी राजमार्ग खुल्न सकेको छैन ।
बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि गाडीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रे खण्डको विभिन्न ठाउँमा पानी परेपछि खोलामा बाढी आएको र अस्थायी डाइभर्सन बगाएको हो ।
बाढीले बीपी राजमार्गको काभ्रे खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुङ्गा, माम्ती र सिन्धुलीको आँपघारीमा अस्थायी डाइभर्सन बगाएको छ । अहिले त्यस क्षेत्रको पूर्ण रूपमा अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको छ ।
गएको वर्ष असोजको बाढी पहिरोले राजमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन हुँदै आएको छ ।
हिजोदेखि राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रे भन्ज्याङ र सिन्धुलीको नेपाल थोकमा गाडीलाई ‘होल्ड’ गरेर राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार मौसममा सुधार तथा डाइभर्सन मर्मत भएपछि मात्र गाडी चलाउन अनुमति दिइनेछ ।