पोखरा/
नेपाली नयाँ वर्ष २०८२ को स्वागतलाई भव्य र अविस्मरणीय बनाउन आयोजित ‘बिक्रम संवत म्युजिक फेस्टिवल Vol. II’ को सम्पूर्ण तयारी पूरा भएको छ।
आगामी चैत ३१ गते (अप्रिल १३, २०२५) साँझ ४ बजेबाट पोखराको बाराहीघाट मैदान, लेकसाइड मा सुरु हुने यो भव्य कार्यक्रम नयाँ वर्षको पूर्वसन्ध्यालाई ऊर्जा, उत्साह र संगीतको माध्यमबाट स्वागत गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।
कार्यक्रम संयोजकको अनुसार, स्टेज सेटअपदेखि ब्यान्ड साउन्ड चेकसम्म सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ। सुरक्षा, व्यवस्थापन र प्राविधिक पक्षहरूमा पनि उच्चस्तरको तयारी गरिएको छ।
यस वर्षको संस्करण अघिल्लो वर्षको तुलनामा झनै भव्य हुन अपेक्षा गरिएको छ। कार्यक्रमलाई विशेष बनाउँदै John & The Locals, Swar, Tribal Rain र Pahenlo Batti Muni जस्ता चर्चित ब्यान्डहरूले प्रत्यक्ष प्रस्तुति दिनेछन्।
संगीतप्रेमीहरूका लागि यो कार्यक्रम नयाँ वर्षलाई सांगीतिक र सांस्कृतिक उत्सवको रूपमा मनाउने अनुपम अवसर बन्नेछ भन्ने विश्वास आयोजक टिमले लिएको छ।