सन्तोष बस्याल
पोखरा ।
पृथ्वी राजमार्ग बस संचालक समिति प्रविधिमैत्री बन्दैछ । अघिपछि बस काउन्टरमा लाइन लगाएर टिकट काट्नुपर्ने झंझटबाट यात्रुले मुक्ति पाउने भएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी पूर्ण अटोमेशनमा गएको जनाइएको छ ।
अटोमेशनमा गएसँगै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिने कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी गराए । उनका अनुसार अब देखि संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरु सफ्टवेयर मार्फत नियन्त्रण हुनेछन् । कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण रुपमा अटोमेशनमा लगेको हो ।
यात्रुहरुले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको पृथ्वी बस डटकम डट एनपी, कम्पनीको मोबाइल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाइल एप्लीकेशन मार्फत सहजै टिकट काट्न सक्नेछन् ।

केसीले आफुहरु समय र आम यात्रुको माग अनुसार प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्ने बाटोमा अग्रसर भएको उल्लेख गरे । अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था मिलाउँदा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले दिँदै आएको सेवा थप प्रभावकारी र विश्वसनिय हुने तर्क उनको छ । राज्यका तर्फबाट सरकारले पनि प्रविधिको प्रयोगका लागि आवश्यक नीति नियम बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए । जसका लागि आफुहरु पृथ्वी राजमार्ग बस संचालक कम्पनीसँग मिलेर अगाडि बढ्न पाउँदा खुशी लागेको उल्लेख गरे ।
विगत ५० वर्ष भन्दा धेरै समय देखि सेवा दिँदै आएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले नेपालका प्रमुख शहर काठमाडौं, बुटवल, हेटौंडा देखि पूर्वका मुख्य शहरहरु धरान, विराटनगर, जनकपुर, विरगञ्ज, काँकड भित्ता देखि सुदुर पश्चिमका दाङ, नेपालगञ्ज, सुर्खेत धनगढी, बर्दिया तथा महेन्द्रनगर सम्म गरि ३० भन्दा बढि शहरमा सेवा दिँदै आएको छ । कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाट करिब १ हजार ३ सय ५० बस मार्फत सेवा दिँदै आएको छ । पृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग माध्यम हो । कम्पनीले नेपालका ६२ जिल्लामा आफ्नो सेवा दिँदै आएको छ । दशवर्ष अगाडि स्थापना भएको कम्पनीले यातायात क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजाने प्रविधि निर्माण गर्दै आएको छ ।