प्रमिला कुँवर, पोखरा
साँझ पर्दै जाँदा पोखराको सामसुङ गल्लीमा एउटा सानो चटपट पसल अगाडि ग्राहकको भीड देखिन्छ । कसैले गिलो चटपट मागिरहेका हुन्छन्, कसैले सुख्खा । कोही पानीपुरीको स्वादमा रमाइरहेका हुन्छन् । ४२ वर्षीय लालबावु जैसवाल जसको हातको स्वादले ‘ग्यालेक्सि चटपट’लाई छोटो समयमै चर्चित बनाएको छ । यहाँको चटपटको स्वादले पोखरेली मात्र होइन, अन्य ठाउँका मानिसलाई पनि लोभ्याएको छ ।
पोखरा–१, बगरका विशाल रेग्मी ‘ग्यालेक्सि चटपट’का नियमित ग्राहक हुन् । यहाँको चटपटले स्वादले सुरुदेखि नै आकर्षित गरेको उनले बताए । ‘अरु ठाउँमा पनि चटपट खान जान्छु, तर यहाँको जस्तो स्वाद अन्त कतै छैन,’ उनले भने । सुरुदेखि नै ‘ग्यालेक्सि चटपट’मा आउने गरेको बताउँदै रेग्मीले समय मिल्नेबित्तिकै साथीभाइसँग वा एक्लै भए पनि यही चटपट खान आउने गरेको सुनाए । ‘मन लाग्यो भने अर्को ठाउँ खोज्दिनँ, सिधै यही आउँछु,’ उनले भने ।
तीन वर्षअघि भारतको बिहारबाट पोखरा आएका जैसवालका लागि यो शहर नयाँ भने थिएन । पोखरा आएपछि दुई/तीन महिना उनले के व्यवसाय गर्ने, कहाँ गर्ने भनेर, कुन व्यवसाय उपयुक्त हुन्छ भन्ने अध्ययन गरे । उनीसँग ठूलो लगानी थिएन त्यसैले कम लगानीमा सुरु गर्न सकिने व्यवसायका रुपमा उनले चटपट पसल रोजे ।
‘आफ्नै व्यवसाय गर्न मन थियो, कम लगानीमा गर्न सकिने भएकाले चटपछ पसल खोले,’ उनले सम्झिझ । उनको पसलमा गिलो र सुख्खा चटपटसँगै आलुचप, समोसा, पानीपुरी र चिया पाइन्छ । उनको चटपटको विशेषता भनेको स्वाद मात्र होइन, गुणस्तर पनि हो । अमिलोका लागि कागती नै प्रयोग गर्ने उनले बताए । चटपटमा प्रयोग हुने मसाला पनि आफैं तयार पार्छन् ।
‘ग्राहकलाई मिठो खुवाउन सकुँ, फेरि पनि फर्केर आऊन् भन्ने चाहना छ । ग्राहकको सन्तुष्टि नै हाम्रो सबैभन्दा ठूलो कमाइ हो,’ उनले भने । उनको पसलमा एकपटक आएका धेरै ग्राहक फेरि फर्केर आउने गरेका छन् । स्वादले पोखरेली मात्र होइन, अन्य जिल्लाबाट आउने पाहुनालाई पनि ‘ग्यालेक्सि चटपट’सम्म तानेको छ ।
जैसवालका अनुसार व्यवसाय सुरुका दिनमा व्यापार उत्साहजनक थियो । पछिल्लो समय भने व्यापार खस्किँदै गएको छ । बढ्दो प्रतिस्पर्धा, महँगीले आम्दानीभन्दा खर्च धेरै हुन थालेको उनी बताउँछन् । ‘व्यवसाय गरेको तीन वर्ष भयो । अहिलेसम्म एक रुपैयाँ पनि नाफा गर्न सकेको छैन । जति कमाइ हुन्छ, सबै पसलमै खर्च हुन्छ । घरखर्च धान्न पनि निकै गाह्रो भइरहेको छ,’ उनले दुःख पोखे, ‘भविष्यमा व्यापार फेरि उकालो लाग्ने आशा छ ।’
भारतमा रहँदा उनी गोडरेज कम्पनीमा काम गर्थे । तर त्यहाँको जागिर अपेक्षाअनुसार नहुँदा अवसरको खोजीमा पोखरा आए । यसअघि एकपटक पोखरा घुम्न आएका बेला यहाँको वातावरण र सौन्दर्यले उनलाई निकै आकर्षित गरेको थियो । त्यसैले नयाँ जीवन सुरु गर्ने ठाउँका रुपमा उनले पोखरालाई रोजेको उनको भनाइ छ ।
उनको परिवारमा श्रीमती ममिता जैसवाल, दुई छोरी र एक छोरा छन् । पसल सञ्चालनमा श्रीमतीले पनि बराबरी साथ दिएकी छन् । बिहानदेखि बेलुकासम्म दुवै जना ग्राहकको सेवामा व्यस्त रहन्छन् । सानो ठाउँबाट सुरु भएको ‘ग्यालेक्सि चटपट’ले स्वादका कारण पहिचान त बनाएको छ, तर त्यो पहिचानलाई आर्थिक सफलतामा रुपान्तरण गर्न भने अझै संघर्ष जारी छ ।
