सुचना, समाचार र मनोरन्जन

मंसिर ५ गतेदेखि ‘चिराग’ प्रदर्शन हुने

काठमाडौं ।
‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइनसहित निर्माण भएको फिल्म ‘चिराग’ आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउने भएको छ। सोमबार घटस्थापनाको दिन सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरसँगै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो।

सार्वजनिक पोस्टरमा एक पुरुष पात्रलाई महिलाको पहिरन र श्रृङ्गारमा प्रस्तुत गरिएको छ। उनी भूइँमा लडेको अवस्थामा छन् भने अनुहारमा जुत्ता लगाएको खुट्टाले थिचिएको देखिन्छ। यसले फिल्मको कथा पहिचान र अस्तित्व संघर्षसँग सम्बन्धित हुनसक्ने अनुमान गर्न सकिन्छ। यद्यपि, निर्माण पक्षले कथावस्तु भने खुलाएको छैन।

त्यागमूर्तिको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेरबहादुर डिसी, ‘मेरी बास्सै’का सापटी काका, मिनाक्षी खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य र बाल कलाकार सागर खरेलको अभिनय रहेको छ।

डेढ करोड लागतमा तयार भएको फिल्ममा निर्देशक त्यागमूर्तिकै संगीत र कोरियोग्राफी रहेको छ। महफूज अंसारी र राहुल राईले छायांकन गरेको यस फिल्ममा सम्पादन सुवास देवकोटा, ब्याकग्राउन्ड संगीत लोकनाथ सापकोटा, शृङ्गार डिके हमाल र रंग संयोजन कल्पेश विश्वकर्माले गरेका छन्। निर्माणमा निर्देशक त्यागमूर्तिसहित संकला गौतम र नरेश प्रसाद भट्टको लगानी रहेको छ।

Leave A Reply

Your email address will not be published.