काठमाडौँ :
पहिलो र दोस्रो सिजनको अपार सफलतापछि टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’को तेस्रो सिजनको घोषणा गरिएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच तेस्रो सिजनको घोषणा गरिएको हो। साथै यही बैशाख ४ गते, शुक्रबारदेखि टेलिभिजनमा नै प्रसारणमा आउने निर्माण टिमले जानकारी दियो।
करिब तीन महिनाको अन्तरालपछि कार्यक्रम नयाँ भव्य सेट, नयाँ कमेडियन, नयाँ जज तथा थप परिमार्जित फर्म्याटसहित दर्शकमाझ फर्किन लागेको हो। शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार तेस्रो सिजनलाई अघिल्ला सिजनहरूभन्दा अझ रोचक, मनोरञ्जनात्मक र भव्य बनाउन सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म विशेष परिवर्तन गरिएको छ।
यस सिजनमा ‘महाराजा’का रूपमा मनोज गजुरेल र ‘महारानी’का रूपमा गौरी मल्ल यथावत रहनुहुनेछ। साथै, यसपटक दिया मास्के नयाँ ‘रानी’का रूपमा शोमा विशेष रूपमा जोडिनुभएको छ, जसले शोको जजिङ प्यानलमा नयाँ आकर्षण र रोचकता थप्ने अपेक्षा गरिएको छ।
अघिल्ला सिजनका अधिकांश लोकप्रिय कलाकारहरू यथावत रहने भए पनि यस पटक केही नयाँ अनुहारहरूको पनि आकर्षक प्रवेश हुने भएको छ। सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा नयाँ कमेडियनका रूपमा ‘कमेडी दरबार’ सिजन ३ मा जोडिएका छन्। साथै यसअघिका मिस पवि,सिडी विजय अधिकारी,पवन खतिवडा (म्याकुरी),सुन्दर खनाल लगायत अन्य पुरानै रहेका छन् भने सन्दिप सापकोटा र हिमेश पन्त आउट भएका छन्। नयाँ कमेडियन थसपएपछि निर्माण टिमले शोमा थप नयाँ ऊर्जा र हास्यको स्वाद ल्याउने विश्वास व्यक्त गरेको छ।