काठमाडौँ,
नेपाली कांग्रेसले विधान संशोधन गरेर दुई अवस्थामा पार्टीका नेता कार्यकर्ता स्वतः निलम्बनमा पर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगमा बुझाएको १५औँ महाधिवेशनबाट संशोधन गरिएको विधानमा पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था गरिएको उल्लेख छ ।

पार्टी विधानको धारा ५० को उपधारा (९) पछि नयाँ उपधारा (१०) थप गर्दै यस्तो प्रावधान राखिएको हो । थप गरिएको उपधारा (१०) मा पार्टीको सबै तहको कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरू पहिलो, फौजदारी कसुरको अभियोगमा थुनामा बसेको अवधिभर र दोस्रो, कुनै पनि तहको अदालतबाट कैद सजाय हुने ठहरी फैसला भएको अवस्थामा स्वतः निलम्बनमा पर्ने उल्लेख छ ।
निलम्बनसँगै सफाइ पाएको अवस्थामा फुकुवा हुने व्यवस्था पनि विधानमा समेटिएको छ । उपधारा (१०) को प्रतिबन्धात्मक वाक्यांशमा ‘अन्तिम अदालतबाट सफाइ पाएको अवस्थामा निजको निलम्बन स्वतः फुकुवा हुनेछ’ भनी स्पष्ट पारिएको छ ।
कांग्रेसको साबिकको विधानको धारा ५० मा यस्तो व्यवस्था नरहेकोमा यस पटक नयाँ उपधारा थपिएको हो । फौजदारी कसुरको अभियोग लागेका पार्टीका विभिन्न तहका कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई निलम्बन गर्ने स्पष्ट व्यवस्था गर्न प्रावधान थप गरिएको संशोधनको कारणमा उल्लेख गरिएको छ ।