सुचना, समाचार र मनोरन्जन

कोप ३१ सम्मेलनमा जलवायु वित्तमा २७ करोड डलरको प्रतिबद्धता

काठमाडौँ,

जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई लक्षित गर्दै टर्किएको अन्ताल्यामा चलिरहेको राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा विभिन्न देशले झण्डै २७ करोड ३० लाख अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायुजन्य विपद्बाट हुने हानि र नोक्सानी सम्बोधनका लागि यो सहयोग घोषणा गरिएको हो ।

यद्यपि, विगतका सम्मेलनमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा ढिलाइ हुँदै आएको अवस्थामा यसपटकको घोषणा वास्तविक सहयोगमा परिणत हुन्छ कि हुँदैन भन्ने प्रश्न भने कायमै छ ।

Pach Pandav

नेपालले यस सम्मेलनमा जलवायु परिवर्तनमा न्यून योगदान भए पनि त्यसको असर असमान रूपमा भोग्नुपरेको विषयलाई प्रमुखताका साथ उठाएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु जोखिममा रहेका देशलाई अनुदानमा आधारित वित्तीय सहायता उपलब्ध गराउन र विकसित देशले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ ।

मन्त्री चौधरीले हालैको रसुवा–भोटेकोशी बाढीलाई जलवायुजन्य सङ्कटको उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले पुनःस्थापना तथा पुनर्निर्माणका लागि झण्डै पाँच अर्ब अमेरिकी डलर बराबरको आवश्यकता सामना गरिरहेको बताउनुभयो । जलवायु सङ्कट सिर्जना गर्न नगण्य भूमिका रहेका नेपाली समुदायले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले यो केवल वित्तीय अभाव नभई न्याय र समानताको विषयसमेत भएको बताउनुभयो ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान शून्य दशमलव एक प्रतिशतभन्दा कम रहेको, तर जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने, हिमताल विस्फोटको जोखिम बढ्ने, अतिवृष्टि, बाढीपहिरो र खडेरीजस्ता समस्या बढिरहेको विषय पनि नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएको छ ।

हिमाली देशका लागि निरन्तर वैज्ञानिक अध्ययन, सीमापार तथ्याङ्क आदानप्रदान र बहुप्रकोपीय पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने नेपालको प्रस्ताव छ ।

यसैबीच, कोप–३१ मा डेनमार्क, बेल्जियम, जर्मनी, स्पेन, दक्षिण कोरिया, आयरल्यान्ड, सिङ्गापुर, पोर्चुगल, इस्टोनिया र सोलोमन आइल्यान्डलगायतका देश तथा सम्बद्ध पक्षले विभिन्न जलवायु कोषमा योगदान गर्ने घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.