पोखरा,
पोखरामा यस वर्षपनि दोस्रो दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा मंसिर १३ गते शनिबार पोखरा १९ पुरनचौर चुरुङ्गामा महोत्सव हुन लागेको पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
दाइँ महोत्सवमा धान चुट्ने, धानको रास बनाउने र बत्ताउने कार्य हुनेछ । परम्परागत दाइँको झल्को दिन खाजा र खाना पनि परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था गरिने अध्यक्ष पहारीले बताए । दाइँ महोत्सवमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि सहभागी गराइने उनले जानकारी दिए । उनका अनुसार दाइँ महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थी पनि सहभागी गराइनेछ । उक्त दिन स्थानीय धानका स्टलहरु लगाईनुको साथै लोकल धानका परिकारले अतिथिहरुको सत्कार गरिने छ । कृर्षि र पर्यटनलाई एकैसाथ प्रवर्धन गर्ने उद्धेश्यले पर्यटन सम्वर्धन संस्थाहरुले रोपाई महोत्सव तथा दाई महोत्सव गर्दै आएका छन।
मौलिक तथा परम्परागत दाइँको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषद्ले जनाएको छ । ‘लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाइँ गर्ने परम्परा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य हो’, उनले भने, ‘यसले लोपोन्मुख जेठो बुढो धानको संरक्षणमा पनि योगदान दिन्छ भन्ने विश्वास छ ।’ साथै कार्यक्रममा सहभागी हुन चाहने ईच्छक महानुभावहरुको लागि विहान ८ बजे निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।