सुचना, समाचार र मनोरन्जन
Sarangi

दान्भीका एक्सन हिरो किरण भन्छन् : मैले आफ्नो चरित्रका लागि धेरै मेहनत पनि गर्न पाइनँ’

काठमाडौं :

फिल्म ‘पर्खी बसें तिमीलाई’ पछि अभिनेता किरण श्रेष्ठ दोस्रो फिल्म ‘दान्भी’मार्फत यही असार ७ गतेदेखि दर्शकमाझ आउँदैछन्। ‘डेब्यू’ फिल्ममा ‘लभर ब्वाई’का रुपमा प्रस्तुत भएका उनी ‘दान्भी’मा भने कम ‘लभ’, बढी ‘एक्सन’मा देखिँदैछन्।

किरणका अनुसार ‘पर्खी बसें तिमीलाई’ लगत्तै उनी ‘दान्भी’को काममा जोडिए। फिल्ममा उनी ‘सिआइबी अफिसर’को भूमिकामा देखिँदैछन्।
‘मैले आफ्नो चरित्रका लागि धेरै मेहनत पनि गर्न पाइनँ। आफ्नो चरित्रका लागि निर्माता दाईसँग केही छलफल भयो। उहाँबाट अनुसन्धानमा जाँदा केके गर्नुपर्छ भनेर केही जानकारी लिएँ। धेरै गहन छलफल गर्न पाइएन’, उनी भन्छन्।

किरणले फिल्मकै लागि लुक्समा पनि मेहनत गर्न पाएका रहेनछन् ।

‘पर्खी बसें पछि ‘दान्भी’ गर्नु परेकाले लुक्स कस्तो बनाउने भन्ने समय नै मिलेन । विपिन कार्की, सौगात मल्ल दाईले गर्नुभएको जस्तो तयारी गर्न पाइएन । मैले हल्का हाउभाउ र लुक्समा थोरै परिवर्तनमात्र गरें । सिआइबीको छनक त आएन, तर पुलिसको चाहिँ आयो’, उनले हाँस्दै भने ।
एक्सन फ्लेभरको ‘दान्भी’मा किरणको एक्सन सिक्वेन्स पनि राम्रै रहेछ । उनले एक्सनमा खासै मेहनत गर्नुपरेन किनकी उनी आफैं तेक्वान्दो खेलाडी हुन्।

‘मैले तेक्वान्दोबाट राष्ट्रिय खेलहरु पनि खेलें। सन् २००७ देखि २०१२ सम्म तेक्वान्दो खेल्थें । त्यसकारण पनि एक्सनमा गाह्रो भएन। त्यही पनि श्री गुरु (द्वन्द्व निर्देशक श्री श्रेष्ठ)गुरुसँग एक दुई दिनको क्लास चाहिँ लिएँ। त्यसपछि सुटिङ सेटमै एक्सन कोरियोग्राफी भयो’, किरणले सम्झिए।
किरणका अनुसार फिल्ममा नायिका पुजा शर्मासँग पनि उनको लभ सिक्वेन्स छ। ‘दान्भी’ एक्सन जनराको भएकाले दर्शकले यो फिल्म हेर्नुपर्ने किरण बताउँछन्।

‘नेपालमा यतिको एक्सन प्याक्ड फिल्म सायदै कम बनेको होला। जुन हिसाबले पुजाजीले, हामीले एक्सन कोरियोग्राफी गरेका छौं, त्यो हिसाबले यस्तो एक्सन नेपाली फिल्ममा कमै होला । कथाको हिसाबले पनि हल्का सस्पेन्स छ,’ उनी भन्छन्।

किरणको पृष्ठभूमि केही रोचक छ । उनी नृत्य र तेक्वान्दोमा रुची राख्थे । एक समयमा यूकेको लाहुरे भिड्ने तयारी गरिरहँदा उनलाई उनकी दिदीले ‘मिस्टर नेपाल २०१६’मा सहभागी हुन पठाइन् । त्यहाँका एक प्रतियोगीले ट्यालेन्ट राउण्डमा अभिनय गरेको देख्दा उनी प्रभावित भएछन् । त्यसपछि उनकै सल्लाहमा किरण मण्डला थिएटरमा अभिनय सिक्न पुगे ।

किरण आफ्नो चरित्रलाई दर्शकले रुचाउनेमा आशावादी छन् । ‘म एक्सन फिल्म गर्न रुचाउँथे । त्यसकारण यो फिल्ममा एक्सन कलालाई देखाउन पाएको छु’, उनी भन्छन् ।

रुपेश तामाङ निर्देशित फिल्म ‘दान्भी’ पुजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु रानालगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.