सम्पादकीय/
दसैँ नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड साथै शक्ति उपसनाको पर्व पनि हो । पुस्तौंपुस्तादेखि नेपालीहरूले ठूलो चाडका रूपमा दसैँ मनाउँदै आएका छन्। यस वर्ष यो पर्व बाढी पहिरो, महङ्गी र डेँगुको चपेटा परेको छ। हाम्रा चाडपर्व, संस्कार र संस्कृति मनाउने मौलिक परम्परामा सास्ती र सङ्कटले धावा बोल्यो र पाठ पनि पढायो। दसैँसँगै आउने रौनक र चमकलाई फिक्का बनायो, बजारको चहलपहलमा कमी ल्यायो । यद्यपि नागरिकले जसोतसो दसैँ मनाउन वाध्य छन्।
ऋतु परिवर्तनसँगै वर्षाद्का नदीहरू सङ्लिनु, आकाशमा वर्षा बोक्ने बादल हट्नु, घरआँगनमा सयपत्री फूल फुल्नु, दसैँ आगमनको सङ्केत हो । हिम शृङ्खलाहरू खुल्नु, गर्मी सकिएर जाडो सुरुवात हुनु, खेतीकिसानीको कामबाट थोरै भएपनि फुर्सद पाउनु, शारदीय यामका विशेषता हुन् । मौसमको माधुर्यतासँगै हर्षोल्लासको छनक दिने, खुशीयाली र रमाइलो जमघट हुने याम दसैँ पर्व नेपालीको घरआँगनमा आइसकेको छ । बाढी पहिरोको पीडा, महङ्गीको सास्ती, डेँगुको कोर्राले झट्का दिँदा, महामारी र सङ्क्रमणले ढोल बजाउँदा, बजार भाउ उकालो लाग्दा नागरिक हर्षित छैनन्।
दसैँ बालबालिकाका लागि नयाँ नाना, चिचीपापा, चङ्गा भएर आउँछ। परदेशमा रहेका आफन्ती मनहरू घरदेश आउँछन्। सहर बजारमा बसेकाहरू आफ्नो थाँतथलो फर्किन्छन्। आवागमनको प्रणाली, मठमन्दिरको दर्शन र पूजाआजामा भीडभाड र ठेलमठेल हुन्छ। सहरबजारको चहलपहल बढ्छ। पिङमा भेटिने युवायुवतीले आफ्ना भावना साट्छन्। प्रियजनहरूसँगको जमघट र भेटघाट, मान्यजनबाट लिइने आर्शीवाद, टीकाजमरा दसैँका गुलिया गुण हुन्। बाढी पहिरो, महङ्गी र डेँगुको महामारीले दसैँलाई चुनौती दिएको छ।
दसैँंको अग्र्यानिक विशेषतामा सङ्कटले हस्तक्षेप गरेको छ। महङ्गीले सास्ती थपेको छ, मितव्ययी रूपमा शुभकामना आदनप्रदान र आर्शीवाद लिनुदिनु नै बुद्धिमता हुनेछ। दसैँ लगत्तै तिहार, नेपाल सम्वत, छठपर्व आइहाल्छन्। चाडपर्व त आउँछन् जान्छन् तर पारिवारिक विपत्ती कसैलाई आइ नलागोस् यस्तै सकारात्मक शुभकामना नै आजको आवश्यकता भएको छ। यो यथार्थ हो, महामारीले हाम्रो स्वतन्त्रतालाई छिनेको छ । पुनर्मिलन, भेटघाट, आदनप्रदानलाई बिथोलेको छ । यद्यपि सङ्कटमा सास फेर्दै, स्वास्थ्य सुरक्षाको ख्याल गर्दै, महामारीको माझमा मितव्ययी दसैँ मनाउने सन्देश र शिक्षालाई भने हामीले आत्मसात गर्नैपर्छ । असहज परिवेशमा पनि सरलता खोज्न सक्नुपर्छ । यसघडी सहरबाट घरफिर्ती हुँदा बाटोघाटो र सडकको सास्ती छ । नागरिक आसुरी शक्तिको अत्याचारबाट मुक्त हुन चाहान्छन् यसका लागि नागरिक समाजले सङ्कट, सङ्क्रमण र सास्तीलाई खबरदारी गर्न आवश्यक छ ।
डेँगुको बीऊ बजारको कोशेली नभइदिए गाउँहरू सुरक्षित रहनसक्छन् । नागरिकको स्वास्थ्यमा सरकार गम्भीर नहुँदा स्वयम् सचेत रहनुको विकल्प छैन् । आफू सङ्क्रमित हुन नपरोस र अरू पनि सङ्क्रमण नहुन भन्ने भावनामा जोड दिनुपर्छ । महामारीका बेला आफ्ना जनताको उपचारमा प्रतिवद्ध रहनु पर्ने सरकारको कर्तत्वय हो । महामारी र महङगीले मानिसलाई आक्रान्त बनाइरहेको घडी वास्तवमा चाडपर्व मनाउनु सकसपूर्ण छ । बाढी पहिरो डुबान पीडित परिवारका सदस्दयलाई यसपालीको दसैँको कुनै उल्लास र उमङ्ग छैन् । विपत्ति र महामारीले कसैलाई दया गर्दैन्, विपन्नदेखि बलशाही शासकसम्मलाई छोड्दैन, हेलचक्र्याईँ नगरौं ।
परिवार र प्रियजनबिच मनाउने दसैँ शुभकामना आदनप्रदान एवम् आर्शीवाद लिनेदिने गर्दा पनि मितव्यीय बनाउनु पर्छ । तडकभडक र रवाफिलो चाडपर्वले हाम्रो आर्थिक सामाजिक हैषियतको लेखाजोखा पनि राख्छ । ‘आयो दसैँ ढोल बजाउँदै, गयो दसैँ ऋण बोकाउँदै’ यो उक्तिले पनि चाडपर्वका बेला स्थान पाउँदै आएको छ । बढ्दो बजार भाऊ र महङ्गीको मारमा पनि दुखम्सुखम चाडपर्व मनाउने वाध्यता भुईं तहका नागरिकमा छ, जसलाई दसैँ मनाउन कै लागि दसैँ भत्ता उपलब्ध हुँदैन् र पनि दसैँ मनाइरहेका हुन्छन् । हुनेखानेहरू पनि भुईंतहका मान्छेबाट चेतना ग्रहण गर्न सिक्नुपर्छ । डेँगुको कालो समय चलिरहेको छ, जो कसैले पनि दसैँले दशा लगाइदियो भनेर दोष लगाउन नपरोस् सुरक्षित रहनुहोस्, मीतव्ययी हुनुहोस्, तडकभडकरहित दसैँ मनाउनुहोस्, आफ्ना वाल्यकालीन दसैँको याद र स्वादमा नोस्टाजिक बन्नुहोस्, बस् नेपालीहरूको महान् चाड दसैँको मङ्गलमय शुभकामना ।