सुचना, समाचार र मनोरन्जन

दसैँमा ग्यास्ट्रिकको समस्याबाट कसरी जोगिने ?

दसैँ पारिवारिक जमघट, खुसीयाली र मिठा-मिठा परिकारहरूको उत्सव हो । तर यही चाडबाडको समयमा खानपानको सन्तुलन बिग्रँदा धेरैलाई पेटसम्बन्धी समस्या हुने गर्छ ।

पेटको समस्या भन्नेबित्तिकै ग्यास्ट्रिकको कुरा आइहाल्छ ।

नेपालमा ग्यास्ट्रिकलाई त अघोषित रूपमा राष्ट्रिय रोग नै मानिन्छ । दसैँमा चिल्लो, पिरो र मसालेदार खानेकुरा धेरै खाँदा ग्यास्ट्रिकको समस्या झनै बढ्न सक्छ ।

त्यसो भए दसैँमा पेटलाई स्वस्थ राख्दै कसरी खानेकुरा खाने त ? वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ प्रा. डा. ऋषिकान्त अर्यालसँग यस विषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ ।

ग्यास्ट्रिक भनेको खास के हो ?
नेपालमा एउटा राष्ट्रिय रोगका रूपमा देखिएको ग्यास्ट्रिक वास्तवमा एउटा विस्तृत शब्दावली वा ठुलो दायरा भएको समस्या हो । सर्वसाधारणले बुझ्ने भाषामा भन्दा यो पेटसम्बन्धी गडबडी हो । यसलाई हामी अमिलो पानी आउने, डकार आउने, खाना रुचि नहुने, पेट पोल्ने र मुख्यतया पेट दुख्ने जस्ता पाचन प्रणालीका विभिन्न लक्षणहरूसँग जोडेर बुझ्छौँ ।

चिकित्सा शास्त्रको भाषामा पेटसम्बन्धी उपचारलाई ग्यास्ट्रिक उपचार भनिन्छ भने आन्द्रा तथा पाचन प्रणालीको अध्ययन गर्ने विषयलाई ग्यास्ट्रोइन्ट्रोलोजी भनिन्छ । छोटकरीमा भन्दा पेट र पाचन प्रणालीमा देखिने जुनसुकै असन्तुलन वा रोग नै आम बुझाइमा ग्यास्ट्रिक हो ।

ग्यास्ट्रिक हुने प्रमुख कारणहरू चाहिँ के–के हुन् ?
ग्यास्ट्रिक हुनका थुप्रै वैज्ञानिक कारण छन् । हामीले शरीरलाई जसरी चलाउँछौँ, शरीरले त्यसै अनुसार प्रतिक्रिया दिने हो । मुख्य कारणहरूमा हाम्रो खानपानको गलत शैली पर्छ । जस्तै– धेरै चिल्लो, अमिलो, पिरो, भुटे तारेका खानेकुरा र बजारका जङ्क फुडहरू खानु । यसबाहेक समयमा खाना नखाने बानी, खाना खाएपछि तुरुन्त सुत्ने प्रवृत्ति, शरीरको आन्तरिक पाचन चक्र बिग्रनु आदि यसका ठुला कारण हुन् । साथै, शरीरमा ‘एचपाइलोरी’ नामक ब्याक्टेरियाको सङ्क्रमण हुनु, जथाभाबी पेनकिलर जस्ता रासायनिक औषधिहरूको सेवन गर्नु, अटो इम्युन समस्या देखिनु तथा अत्यधिक मानसिक तनाव र अनिद्राको सिकार हुनुले पनि ग्यास्ट्रिक गराउँछ ।

कतिपय मानिसहरूले समयमै, सादा खाना खाँदा पनि ग्यास्ट्रिकले छाडेन भन्छन् नि, यो कत्तिको सत्य हो ?

सबैको शरीर र पाचन क्षमता एकै किसिमको हुँदैन । कतिपय मानिसहरू जीवनशैली र खानपानमा एकदम सादा पन अपनाउँदा पनि ग्यास्ट्रिकबाट पीडित हुन्छन् । यसको पछाडि मुख्य रूपमा ‘एचपाइलोरी’ ब्याक्टेरिया जिम्मेवार हुन्छ । नेपालका अस्पतालहरूमा भएका अनुसन्धान अनुसार करिब ५० प्रतिशत मानिसहरूमा यो ब्याक्टेरियाको सङ्क्रमण पाइएको छ । दूषित पानी वा खानाको माध्यमबाट बाल्यकालमै शरीरमा प्रवेश गर्ने यो ब्याक्टेरिया पेटको भित्री पत्रमा बसेर ग्यास्ट्रिक गराउँछ ।

Chaka Panja

जबसम्म यसको उचित उपचार वा निराकरण हुँदैन, तबसम्म जति नै सादा खाएपनि ग्यास्ट्रिक निको हुँदैन । यसबाहेक औषधिजन्य र अटो इम्युन ग्यास्ट्राइटिसले पनि यस्तै समस्या निम्त्याउँछ ।

खाली पेटमा कडा चिया वा दुध चिया पिउँदा ग्यास्ट्रिक हुन्छ भनिन्छ नि ?
दुध हालेको चिया आफैँमा ग्यास्ट्रिक गराउने मुख्य कारक होइन, तर बिहान उठ्ने बित्तिकै खाली पेटमा कडा चिया, क्याफिनयुक्त पेय पदार्थ वा बेभरेजहरू पिउँदा यसले पेटको भित्री भागलाई उत्तेजित गर्छ । पहिलेदेखि नै ग्यास्ट्रिकको समस्या भएका व्यक्तिहरूलाई यसले झन् बढाउँछ । त्यसैले बिहानको समयमा खाली पेटमा सिधै कडा चिया पिउनुको सट्टा मनतातो पानी पिउने र चिया पिउँदा बिस्कुट वा अन्य कुनै हलुका खाजासँग मिसाएर खानु वैज्ञानिक रूपमा उपयुक्त हुन्छ ।

ग्यास्ट्रिकका बिरामीहरूले आफ्नो जीवनशैलीमा कस्तो परिवर्तन ल्याउनुपर्छ ?
ग्यास्ट्रिकबाट बच्न र यसलाई नियन्त्रण गर्न हामीले केही अनुशासन पालना गर्नैपर्छ । पहिलो कुरा, खाना खाने निश्चित समय बनाउनुपर्छ । सधैँ सोही समयमा खानुपर्छ ताकि शरीरको पाचन प्रणाली त्यसै अनुसार तयार रहोस् । दोस्रो, खानासँगै धेरै पानी पिउने बानी छाड्नुपर्छ । खाना खानुभन्दा १५–२० मिनेट अगाडि वा खाना खाएको कम्तीमा आधा घण्टापछि मात्र पानी पिउनु उचित हुन्छ । किनकि खानासँगै धेरै पानी पिउँदा पाचन रस डाइलुट हुन्छ।

तेस्रो, चिल्लो, पिरो, मसलादार, सेकुवा तथा जङ्क फुडहरूबाट टाढै रहनुपर्छ । चौथो, खाना खाए लगत्तै नसुती कम्तीमा १५–२० मिनेटसम्म हिँडडुल गर्ने वा ठाडो भएर बस्ने बानी बसाल्नुपर्छ । जसले खानाको पाचन प्रणालीलाई सहज बनाउँछ ।

ग्यास्ट्रिकको समस्या जटिल बन्दै गएमा के गर्ने ?
यो आम नागरिकले विशेष ध्यान दिनुपर्ने अति संवेदनशील पाटो हो । धेरैजसो मानिस पेट दुख्ने बित्तिकै चिकित्सकको परामर्शबिना नै फार्मेसीबाट सिधै पेनकिलरहरू किनेर खाने गर्छन् । यसले क्षणिक रूपमा राहत दिए पनि दीर्घकालीन रूपमा समस्यालाई झन् बल्झाउन सक्छ ।

ग्यास्ट्रिक भनेको साधारण अपचदेखि लिएर अल्सर, आन्द्रा रोग वा क्यान्सर जस्ता जटिल रोगहरूको लक्षण पनि हुन सक्छ । त्यसैले समस्या पटक–पटक दोहोरिएमा स्वयं–चिकित्सा नगरी तुरुन्त ग्यास्ट्रोएन्ट्रोलोजिस्ट वा विशेषज्ञ चिकित्सकको सल्लाह लिई इन्डोस्कोपी तथा रगत–दिशा परीक्षणहरू गराएर वास्तविक कारण पत्ता लगाई उपचार गर्नुपर्छ । शरीरलाई माया गरेर स्वस्थ जीवनशैली अपनाएमा ग्यास्ट्रिकबाट पूर्ण रूपमा मुक्त हुन सकिन्छ।

चाडबाडको बेलामा विशेषगरी दसैँको समयमा ग्यास्ट्रिकको समस्या झन् धेरै बढेको देखिन्छ । यो बेला खानपानमा कस्तो ध्यान दिने ?
चाडबाडको बेलामा ग्यास्ट्रिकको समस्या बढी नै देखिने गरेको छ । हाम्रो हिन्दु धर्म र परम्पराअनुसार चाडपर्वमा खसीको मासु, बोसोयुक्त मासु, पक्कु तथा चिल्लो–फ्रेन्ड मासुका परिकारहरू धेरै खाने चलन छ । तर चाडपर्व भन्दैमा जति बेला पनि खाली पेट बस्ने र पायो भन्दैमा एकैचोटि धेरै खाने बानीले पेटमा अत्यधिक दबाब पर्छ । यसलाई व्यवस्थित गर्न हामीले सधैँ निश्चित समयमा खाने, मात्रा मिलाएर खाने र चाडबाडमा पनि आफ्नो शरीरले पचाउन सक्ने हिसाबले मात्र सन्तुलित रूपमा सेवन गर्नुपर्छ ।

चाडबाडमा मासु खाने चलन छ । कस्ता प्रकारका मासु र परिकारहरूबाट ग्यास्ट्रिकका पीडितहरूले विशेष सावधानी अपनाउनुपर्छ ?

मासु नै नखाने भन्ने त होइन । चाडबाडमा मासु पनि आवश्यकता अनुसार खानुपर्छ । तर मुख्य कुरा हामीले कुन प्रकारको मासु र कसरी पकाएको छ भन्नेमा ध्यान दिनुपर्छ । खसीको मासु वा बोसोयुक्त मासु सकेसम्म कम गर्ने र सकेसम्म बोसो रहित तथा माछाका परिकार जस्ता खानेकुराहरू धेरै राम्रो हुन्छन्, जसमा गुड फ्याटी एसिड पाइन्छ ।

विशेषगरी सेकुवा एकदम खतरा हुन्छ । किनभने यसमा प्रयोग हुने चारकोल (अङ्गार) सँग मासुको प्रत्यक्ष सम्बन्ध हुन्छ, जसले पेटलाई नराम्रोसँग उत्तेजित गराउँछ । यसबाहेक, चाडबाडमा जङ्क फुड, कोल्ड ड्रिंक्स, इनर्जी ड्रिंक्स तथा सोडाजस्ता पेय पदार्थहरूले स्वास्थ्यलाई हानि पुर्‍याउने हुनाले यस्ता चिजहरूबाट टाढै रहनुपर्छ । ‘भेजिटेबल डाइट’ तथा फाइबरयुक्त खानाहरूलाई बढी प्राथमिकता दिनुपर्छ । -रातोपाटी

Leave A Reply

Your email address will not be published.