काठमाडौं :
भदौं २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को निर्माण टिम प्रचारप्रसारमा तिब्र लागेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि फिल्मको बारेमा जानकारी दिएको छ। राजनीतिक कथावस्तुमा निर्माण भएको फिल्ममा विशेष राजनीतिक दाउपेच चित्रण गरेको छ। दीपेन्द्र लामाले निर्देशन गरेको फिल्मलाई असल नेता चुन्नका लागि सन्देश दिन खोजिएको छ।
फिल्मको बारेमा जानकारी दिदै निर्देशक लामाले भने,‘ नेतामाथि जुन प्रश्न उठाउँदै आएका छौं हामीले अब जनतामाथि किन प्रश्न नउठाउने ? नेता गलत भए तर गलत नेतालाई जिताउने पनि त जनता हुन् । असल नेता चयन गर्ने दायित्व जनतामा हुँदैन ? इमान्दारिता नेतामा पनि चाहिन्छ र जनतामा पनि चाहिन्छ ।’
तीन वटा फिल्ममा सहकार्य गरेका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले यो फिल्मको कथा अन्य भन्दा फरक रहेको बताए।अभिनेताले राईले पछिल्लो समय बनिरहेका राजनीतिक कथावस्तुका फिल्मभन्दा ‘नांगो गाउँ’ भिन्न रहेको बताए। अभिनेत्री मिरुनाले पनि आफुले जति फिल्ममा काम गरेपनि केहि नआएको जस्तो अनुभुत हुने बताईन। उनले भनिन्,‘काम देखाउने मौका पनि पाएँ । दर्शकले चिन्ने मौका पनि पाएँ । आफूले धेरै कुरा सिकिरहेको छु ।’
पहिलो पटक दीपेन्द्र लामाको फिल्ममा काम गरेकी उनले पहिलो पटक फिल्मको कथा सुन्दा नै आफुलाई मन परेको बताईन्।
‘नांगो गाउँमा पहिलोपटक दीपेन्द्र दाइसँग काम गरेको छु । यसअघि राजनीतिक कथाका फिल्ममा काम गरेको छैन । कथा सुन्दा निकै रोचक लाग्यो,’ उनले भनिन् ।