काठमाडौं :
अभिनेता दयाहाङ राईको अभिनय रहेको चलचित्र ‘मैझारो’ को लुक्स सार्वजनिक भएको छ। हाल छायांकनको अन्तिम चरणमा पुगेको चलचित्रको सुटिङ सेटबाट बाहिरिएको तस्बिरमा दयाहाङ लिम्बू समुदायको पारम्परिक पहिरनमा, हातमा भाला समातिएको अवस्थामा देखिएका छन्।
चलचित्रको निर्माण पक्षले यसअघि दयाहाङको सहभागिता पुष्टि नगरे पनि अहिले सार्वजनिक भएको दृश्यले उनी चलचित्रमा आबद्ध भएको प्रस्ट भएको छ। ‘मैझारो’ का निर्देशक विल्सन विक्रम राईले दर्शकलाई ‘सरप्राइज इन्ट्री’ दिने उद्देश्यले उनीबारे जानकारी लुकाएको बुझिएको छ।
यसअघि चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतको अभिनय रहने जानकारी दिइएको थियो। तर, दयाहाङको नाम सूचीमा नसमेटिएकाले उनी चलचित्रमा सहभागी हुने नहुनेमा अन्योल थियो।
निर्देशक राईको कथा र पटकथामा निर्माण भइरहेको चलचित्र ‘मैझारो’ को छायांकन इलामको देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका विभिन्न स्थानहरूमा गरिएको हो। छायांकन साउनको पहिलो साताबाट सुरु भएको थियो।
चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको स्वर समावेश गरिएको छ। सौरभ लामाले छायांकन गरेको यो चलचित्रको वितरण आरआर फिल्म्स ले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटल ले लिएको छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको चलचित्रले लिम्बू समुदायको सांस्कृतिक र सामाजिक पृष्ठभूमिलाई प्रेम कथासँग जोडेर चित्रण गर्ने लक्ष्य राखेको बताइएको छ।