काठमाडौं :
नेपालका बाल प्रतिनिधि देव जैसवालले मलेसियाको साबाह राज्यस्थित कोटा किनाबालुमा भएको अन्तर्राष्ट्रिय व्यक्तित्व, संस्कृति तथा पर्यटन प्रवद्र्धन सम्बन्धी प्रतियोगिता ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ अन्तर्गत बालक विधामा ‘ग्रान्ड विनर’को उपाधि जितेका छन्।
विश्वका विभिन्न देशबाट सहभागी भएका उत्कृष्ट प्रतिस्पर्धीबीच सम्पन्न अन्तिम प्रतिस्पर्धामा देवले आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता, नेपाली संस्कृति तथा पर्यटन प्रवद्र्धनप्रतिको समर्पणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै निर्णायकहरूको मन जितेका थिए।
प्रतियोगितामा देवले नेपालको मौलिक संस्कृति, परम्परा, सभ्यता, राष्ट्रिय पहिचान तथा प्राकृतिक सम्पदालाई आकर्षक ढंगले प्रस्तुत गरेका थिए। नेपाली पहिरन, संस्कार, भाषा र पर्यटनका सम्भावनाबारे उनले मन्तव्यसमेत दिएका थिए। म्याजेस्टिक ग्रुप नेपालमार्फत देव प्रतियोगिताका लागि मलेसिया गएका हुन्। संस्थाले प्रतियोगिताका लागि आवश्यक तयारी, समन्वय तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।