सुचना, समाचार र मनोरन्जन

धनमाया तामाङ स्मृति दिवस : लोकभाकामा फेरि गुञ्जियो अमर स्वर

काठमाडौं :
ठाडो भाकाकी प्रख्यात गायिका धनमाया तामाङको २१औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। १९८७ फागुन २० गते लमजुङको काफलस्वाँरा पुरकाङमा जन्मिएकी तामाङको २०६१ पौष ५ गते निधन भएको थियो।

उनको कर्मथलो सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा वडा कार्यालयको आयोजनामा ५ गते बिहानै गायिकाको शालिकमा माल्यार्पण गर्दै स्मृति सभा आयोजना गरिएको थियो। कार्यक्रममा उनका छोरी, नातिनी, पारिवारिक सदस्य तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

त्यसैगरी, गायिका तामाङका छोरा डा. आशबहादुर तामाङले काठमाडौंको रानीबनस्थित आफ्नै निवासमा रहेको आमाको शालिकमा दीप प्रज्वलन गर्दै स्मृति दिवस मनाएका छन्। उनले बिहानै स्वयम्भू पुगेर पनि दीप प्रज्वलन गर्दै आमाप्रति श्रद्धासुमन व्यक्त गरेका थिए। कार्यक्रममा छोरा–बुहारी, नाति तथा नातिनीले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै गायिकालाई स्मरण गरेका थिए।

आमासँग ठाडो भाकामा दोहोरी गीतसमेत गाएका डा. तामाङले धनमाया तामाङ ममतामयी आमा मात्र नभई लोकसंगीतकी विशिष्ट प्रतिभा भएको उल्लेख गर्दै उनका सदाबहार सिर्जनाहरू आज पनि गुन्जिरहेकामा जोड दिए।

यसै अवसरमा, गायिका तामाङको संगीत योगदानलाई सम्झँदै इटहरीस्थित संगीत साधना प्रतिष्ठानले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। २१औँ पुण्यस्मृति सभामा गायिका तामाङका चर्चित गीतहरू प्रस्तुत गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजु केसीले ठाडो भाकाकी अमर स्रष्टा धनमाया तामाङले नेपाली लोकसंगीतमा विशिष्ट उचाइ कायम गरेको व्यक्तित्व भएको उल्लेख गर्दै भौतिक शरीर नरहे पनि उनका सिर्जनाहरू सधैँ जीवित रहने बताए।

Leave A Reply

Your email address will not be published.