सुनिता शर्मा
पोखरा
संसारकै सातौँ अग्लो हिमाल धवलागिरिको ६६ औँ आरोहण दिवस बुधबार हिमालको फेदैमा रहेको मुदी गाउँ पुगेर मनाईएको छ । यो अवसर जुटाएको हो पर्यटन, पर्यटक र पर्यटकीय स्थलहरुको सम्भावनाको खोजी गर्दैं आएकोे संस्था ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीले । धवलागिरिको फेदीमा अवस्थित यो गाउँमा स्थानीय, पर्यटन व्यवसायी, जनप्रतिनिधि र पर्वतारोहीहरू जम्मा भएका थिए ।
धवलागिरि आरोहणको ईतिहासलाई फर्केर हेर्दा सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त टोलीले पहिलो पटक ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरिको सफल आरोहण गरेको थियो । अस्ट्रियाका कुर्ट डिम्बर्गर (Kurt Diemberger) सहितको टोलीले इतिहास रचेपछि धवलागिरि विश्व पर्वतारोहण नक्सामा स्थापित भयो । टोलीको नेतृत्व म्याक्स आइसेलिनले गरेका थिए भने नेपाली आरोही निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पाले पनि त्यो सफलतामा महत्त्वपूर्ण भूमिका निभाएका थिए । ६६ वर्षपछि पनि धवलागिरिको कथा केवल गौरवमा सीमित छैन । हिमालको काखमा बसेका बस्तीहरू अहिले पर्यटनको सम्भावना र पूर्वाधार अभावबीच संघर्ष गरिरहेका छन् ।

मुदीमा आयोजित आरोहण दिवस कार्यक्रममा वक्ताहरूले सोही गौरव सहास र पर्यटनको प्रसस्त सम्भावना बोकेको धवलागिरि क्षेत्रको पर्यटन प्रवर्द्धन, संरक्षण र दिगो विकासका विषयमा गम्भीर बहस गरे । गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोधा रिमालले धवलागिरि लगायत प्रदेशका हिमाललाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रचार गर्न सके स्थानीयको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन आउने बताइन् ।
उनले जलवायु परिवर्तनको असर हिमालमा स्पष्ट देखिन थालेको उल्लेख गर्दै हिमाल जोगिए मात्रै मानव सभ्यता सुरक्षित रहने धारणा राखिन् । हिमाल केवल पर्यटनको स्रोत नभई प्राकृतिक सन्तुलनको आधार भएको उनको भनाइ थियो ।
कार्यक्रममा अर्को महत्वपूर्ण चिन्ता पनि उठ्यो पदयात्रा मार्गमा पुगेको मोटरबाटो । वक्ताहरूले सडक विस्तारसँगै विदेशी पदयात्रीको आकर्षण घट्दै गएको बताए । धवलागिरि सर्किट विश्वकै चुनौतीपूर्ण र रोमाञ्चक ट्रेकिङ रुटमध्ये एक मानिए पनि आधारभूत पूर्वाधारको कमीले यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको उनीहरूको निष्कर्ष थियो ।

प्रदेश सांसद रेशम जुग्जालीले गाउँसम्म सडक पुर्याउने जनअपेक्षा स्वाभाविक भए पनि वैकल्पिक पदयात्रा मार्ग विकासमा ध्यान दिनुपर्ने बताए । उनले धवलागिरि क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष योजना आवश्यक रहेको धारणा राखे ।
धवलागिरिलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मोडेलमा विकास गर्नुपर्ने आवाज पनि कार्यक्रममा बलियो रूपमा उठ्यो । अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख रविन कडरियाले संरक्षण र पर्यटनलाई सन्तुलित रूपमा अघि बढाउन सके धवलागिरिमा अपार सम्भावना रहेको बताए ।
धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धवलागिरि सर्किटसँगै गुर्जा-डोल्पा रूट तथा ढोरपाटन शिकार आरक्ष जोड्ने मार्गको विकास गर्नुपर्ने बताए । यसले पश्चिम नेपालका दुर्गम क्षेत्रलाई नयाँ पर्यटन नेटवर्कमा जोड्न सक्ने उनको विश्वास थियो ।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले यस्ता पर्यटकीय सम्भावना बोकेका ठाउँहरुमा होमस्टेको कन्सेप्ट ल्याउनुपर्ने बताए । साथै लिंक जोडिएका पर्यटकीय सम्भावना बोकोका ठाउँहरु म्याग्दी मुस्ताङ) जस्ता ठाउँहरुलाई एकअर्का संग जोड्नुपर्ने धारण राखे । आचार्यले धवलागिरिको गौरव अन्तराष्ट्रिय स्तरमा पुर्याउन सबै पक्षको हातेमालो आवस्यक रहेको कुरामा जोड दिएका छन ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले धवलागिरिको अन्तर्राष्ट्रिय ब्रान्डिङमा अझै धेरै काम गर्नुपर्ने उल्लेख गरेका थिए । त्यस्तै पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले हिमाल पर्यटनमा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पदयात्रा मार्गमा मोटरबाटो पुग्दा विदेशी पर्यटक घटेको, धवलागिरि सर्किटमा पूर्वाधार अभाव भएको प्रति चिन्ता र चासो राखेका छन।