काठमाडौं :
सीताराम कट्टेल (धुर्मुस)अभिनित फिल्म ‘लाज शरणम्’ प्रदर्शनको छैटौं हप्तामा प्रवेश गरेको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको फिल्मले छैटौं सातामा प्रवेश गरेको हो।
प्रदर्शनको पहिलो दिनमै उल्लेखनीय कमाइ गर्दै सफल यात्रा तय गरिरहेको यस चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमले बताएको छ। फिल्म ‘लाज शरणम्’ उच्च शो सहित प्रदर्शनमा आएको थियो र अहिले पनि यसको शोहरूमा दर्शकको उपस्थिति उत्साहजनक रहेको छ।
दर्शकबाट निरन्तर सकारात्मक प्रतिक्रिया पाइरहेको यस चलचित्रले अझै केही समय प्रदर्शनको यात्रा कायम राख्ने अपेक्षा गरिएको छ। यस फिल्मका निर्माता नवीन श्रेष्ठले भने,‘दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि चलचित्रलाई उपलब्ध शो मा दर्शकको संख्या उच्च छ।’
‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसपछिको व्यापारिक आँकडा निर्माताले सार्वजनिक गरेका छैनन्। फिल्ममा सीतारामका अलवा विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ।
‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री)ले निर्देशन गरेका हुन्। जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन्।