काठमाडौं :
राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘डिग्री माइला ः एमए थर्ड क्लास’को छायांकन सकिएको छ । फिल्मको छायांकन थालेको ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।
निर्माण टिमले असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु गर्दै ओखलढुंगाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । फिल्मले ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ ।
फिल्ममा दयाहाङ राई,आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । फिल्ममा ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । आगामी नेपाली नयाँ वर्षमा रिलिज हुने फिल्मलाई वर्षकै प्रतिक्षित मध्येको एक फिल्मको रुपमा हेरिएको छ।
यस अघि यो फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो । पोस्टरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत भएका थिए। उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको र चश्मा लगाएर जुँगा पालेको देख्न सकिन्छ । त्यस कारण पनि यो फिल्म अन्य फिल्ममा भन्दा फरक छ कि भनेर अनुमान लगाउन सकिन्छ।