सुचना, समाचार र मनोरन्जन

प्रेमकथामा पुन: फर्किए निर्देशक दिनेश राउत, ‘कुमारी’को छायाङ्कन पाटनबाट सुरु

काठमाडौं :

सामाजिक यथार्थपरक सिनेमाबाट सशक्त छवि बनाएका निर्देशक दिनेश राउत पुनः प्रेमकथामा आधारित चलचित्र लिएर दर्शकमाझ आउन लागेका छन्। मंगलबार बिहान ललितपुरको ऐतिहासिक बङ्गलामुखी मन्दिरमा शुभ मुहूर्त गरी चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु गरिएको हो।

राउतकै निर्देशनमा बन्ने यो चलचित्रको छायाङ्कन पाटन क्षेत्रबाट सुरु भएको हो। निर्माण टिमका अनुसार चलचित्रको सम्पूर्ण छायाङ्कन ३५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्देशक दिनेश राउतले यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता हिट प्रेमकथाहरू निर्देशन गरेका थिए। पछिल्ला वर्षहरूमा भने उनले ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’‘पुजार सार्की’ जस्ता सामाजिक मुद्दा उठाउने फिल्म बनाए। ‘कुमारी’ मार्फत उनी पुनः प्रेमकथाको शैलीमा फर्किएका छन्, जुन उनको फिल्म निर्माण यात्राको पुनः संक्रमणकालको रूपमा हेरिएको छ।

चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। अन्य कलाकारमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार छन्।

चलचित्रको निर्माण महेन्द्र अधिकारीले गरिरहेका छन्, जबकि स्क्रिप्ट विकास सुवेदीको लेखन रहेको छ। छायाङ्कन निर्देशक सुसन प्रजापति हुन् भने कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत रहेका छन्।

संगीततर्फ केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटी को संगीत रहेको छ। ‘कता छौ’ बोलको गीतले चलचित्रको प्रारम्भिक प्रचारमा चर्चा बटुलिसकेको छ। यही गीतमार्फत गायक केहर सिंह लिम्बुले पार्श्व गायनमा डेब्यु गरेका हुन्।

राउतको निर्देशनमा बन्ने ‘कुमारी’ सँगै नेपाली चलचित्रले फेरि एकपटक मौलिक प्रेमकथामा गहिरिने अपेक्षा गरिएको छ। फिल्म निर्माण टोलीका अनुसार, छायाङ्कन सम्पन्नपछि चलचित्रलाई आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी छ।

Leave A Reply

Your email address will not be published.