सुचना, समाचार र मनोरन्जन

मासम नेपालको अध्यक्षमा डा. श्रीकान्त खतिवडा सर्वसम्मत

पोखरा,

मानव अधिकार संरक्षण मञ्च (मासम) नेपालको नवौँ राष्ट्रिय सम्मेलनले प्राध्यापक डा. श्रीकान्त शर्मा खतिवडाको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

काठमाडौँको कलङ्की, स्युचाटारस्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रकाश काफ्ले स्मृति हलमा आइतबार सम्पन्न सम्मेलनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनेको हो। निर्वाचन समितिका संयोजक एवं संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडाका अनुसार अभियान्ता सुशील प्याकुरेल, निवर्तमान अध्यक्ष गणेश वि.क., निवर्तमान उपाध्यक्ष सावित्रा जोशी र पूर्व केन्द्रीय सदस्य सि.पि. सिंह यादव सदस्य रहेको पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति घोषणा गरेको हो।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कास्कीका डा. श्रीकान्त खतिवडा, उपाध्यक्षमा दाङका कृष्ण गौतम, महासचिवमा तनहुँका धनञ्जय खनाल, सचिवमा चितवनका डा. यमबहादुर वि.क. र कोषाध्यक्षमा डडेल्धुराकी बिना खड्का चयन भएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा धनुषाका डा. विजय दत्त, रुपन्देहीका डा. कृष्ण न्यौपाने, काठमाडौँका शिवप्रसाद खकुरेल, कैलालीका डिल्लीराज जोशी, स्याङ्जाका गिरधारी सुवेदी, पाँचथरका लेखनाथ सिकारु, बागलुङकी सृजना थापा मगर, सुनसरीकी डा. गीता खड्का, बझाङका श्याम सुनार र सुर्खेतका कविन्द्रकुमार के.सी. निर्वाचित भएका छन्। २५ सदस्यीय कार्यसमितिका बाँकी पदमध्ये सात प्रदेशस्तरीय सम्मेलनबाट निर्वाचित अध्यक्षहरू पदेन सदस्य रहने र अन्य सदस्य कार्यसमितिबाट मनोनयन एवं आमन्त्रित गरिने वैधानिक प्रावधान रहेको निर्वाचन समितिले जनाएको छ।

सम्मेलनको उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष गणेश विश्वकर्माले आजको परिवर्तित सन्दर्भमा मानव अधिकार आन्दोलनका समसामयिक एजेन्डाहरू शीर्षकको अवधारणापत्र प्रस्तुत गरे। विगतको मानव अधिकार आन्दोलन नागरिक तथा राजनीतिक अधिकार, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामा केन्द्रित रहेको उल्लेख गर्दै उनले बदलिँदो परिवेशअनुसार आन्दोलनका प्राथमिकता पनि परिवर्तन गर्नुपर्ने बताए।

Pach Pandav

अवधारणापत्रमा भनिएको छ, “अबको मानव अधिकार आन्दोलनलाई केवल घटना अभिलेख गर्ने, विज्ञप्ति निकाल्ने र विरोध प्रदर्शन गर्ने परम्परागत शैलीमा मात्र सीमित नराखी राज्य, निजी क्षेत्र र सार्वजनिक संस्थाको जवाफदेहिता खोज्ने हस्तक्षेपकारी अभियानका रूपमा अघि बढाउनुपर्छ।”

अवधारणापत्रले आजको मानव अधिकार आन्दोलनका लागि पाँचवटा अन्तरसम्बन्धित मुद्दालाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ: जातीय मुक्ति: जात व्यवस्था र संरचनागत विभेदको अन्त्य।वर्गीय न्याय: गरिबी, भूमिहीनता र आर्थिक असमानताको अन्त्य।लैङ्गिक न्याय: लैङ्गिक समानता र अधिकारको सुनिश्चितता।वातावरणीय तथा जलवायु न्याय: जलवायु परिवर्तनका असरबाट प्रभावित समुदायको न्याय।लोकतान्त्रिक न्याय: डिजिटल निगरानीसहितको सुशासन र दण्डहीनताको अन्त्य।यसका साथै डिजिटल अधिकार, प्रविधिजन्य विभेद नियन्त्रण तथा पीडितको न्यायमा पहुँच र परिपूरण सुनिश्चित गर्न प्रभावकारी हस्तक्षेप आवश्यक रहेको अवधारणापत्रमा औँल्याइएको छ।

निवर्तमान अध्यक्ष विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा प्रमुख अतिथि तथा मानव अधिकारकर्मी एवं टङ्कप्रसाद आचार्य प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेल विशेष अतिथिका रूपमा सहभागी थिए। उपाध्यक्ष सावित्री जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा तत्कालीन महासचिव डा. श्रीकान्त शर्मा खतिवडाले साङ्गठनिक र कोषाध्यक्ष बिना खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। सो अवसरमा विशेष अतिथि प्याकुरेलले नेपालको वर्तमान मानव अधिकारको अवस्था र चुनौतीबारे विशेष प्रस्तुति दिए।

सम्मेलनका वक्ताहरूले २०७२ साल असोज ३ गते जारी संविधानको ११ वर्ष व्यतीत भइसक्दा पनि नागरिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए। छलफलका क्रममा सहभागीहरूले “संविधान संशोधन वा परिमार्जनको सवालमा सरकार राष्ट्रिय सहमतितर्फ उन्मुख नहुनु विडम्बनापूर्ण रहेको” टिप्पणी गरे।

बन्दसत्रमा मासम गण्डकी प्रदेश समिति सदस्य डोलराज पाण्डे, कास्की अध्यक्ष ध्रुवसिंह खड्का, सदस्य दिनेशकुमार लामिछाने, मानव अधिकार एलायन्सका तिलोत्तम पण्डित, प्रकाश शर्मा र केन्द्रीय सदस्य यमबहादुर वि.क. लगायत विभिन्न प्रदेश तथा जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षकहरूले प्रतिवेदनमाथि छलफल गर्दै नागरिकमैत्री कानुन निर्माण र संविधान समीक्षामा नागरिक समाजको सक्रियता आवश्यक रहेको विचार राखे।

बन्दसत्रले साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षको वार्षिक कार्ययोजनासमेत घोषणा गरेको छ। २०४१ सालमा स्थापना भई पञ्चायतविरोधी आन्दोलन, सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकार रक्षा र २०६२/६३ को जनआन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको मासमले नयाँ नेतृत्वसँगै समतामूलक समाज निर्माणको दीर्घकालीन लक्ष्यलाई थप गति दिने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.