एजेन्सी/
पछिल्लो ३० वर्षमा पृथ्वीको तीन चौथाइ जमिन स्थायी रूपमा सुक्खा भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घका वैज्ञानिकहरूले संसारका केही भागहरूमा बाढी र आँधीबेहरीजस्ता नाटकीय पानीसम्बन्धी प्रकोपहरू तीव्र भए पनि पछिल्ला दशकहरूमा पृथ्वीको ७७ प्रतिशतभन्दा धेरै अर्थात् तीन चौथाइ जमिन स्थायी रूपमा सुक्खा भएको बताएका हुन् ।
सन् २०२० सम्मको तीन दशकमा पृथ्वीको झन्डै ७७ दशमलव ६५ प्रतिशत जमिनमा अघिल्लो ३० वर्षको अवधिको तुलनामा सुक्खा अवस्था निम्तिएको मरुभूमिकरणविरुद्ध लड्न संयुक्त राष्ट्र महासन्धि (यूएनसीसीडी) को प्रतिवेदनमा उल्लेख छ ।
साउदी अरेबियाको रियादमा भएको १६औं यूएनसीसीडी सम्मेलनमा सार्वजनिक प्रतिवेदनले हरितगृह ग्यास उत्सर्जनलाई रोक्न नसके विश्वको तीन प्रतिशत सिमसार भूमि सुक्खा भूमिमा परिणत हुने चेतावनी दिएको छ ।
प्रतिवेदनका अनुसार पछिल्लो ३० वर्षमा विश्वव्यापी सुख्खा भूमिको क्षेत्रफल झन्डै ४३ लाख वर्ग किलोमिटरले विस्तार भएको छ, यो भारतको क्षेत्रफलभन्दा झन्डै एक तिहाइ बढी हो ।
सुक्खा जमिनमा बस्ने मानिसको सङ्ख्या विगत तीन दशकमा दोब्बरले बढेर दुई अर्ब तीन करोड जना पुगेको छ । यही क्रम जारी रह्यो भने सन् २१०० सम्ममा सुख्खा जमिनमा बस्ने मानिसको सङ्ख्या पाँच अर्ब नाघ्ने प्रतिवेदनमा उल्लेख छ । यसले मरुभूमिकरण र जलवायुसम्बन्धी सुक्खापन बढाउने र अर्बाैं मानिसको जीवन र जीविकोपार्जनलाई खतरामा पार्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
जमिनमा खडेरीको समस्या हुने ठाउँमा युरोपको ९६ प्रतिशत, पश्चिम अमेरिकाका केही भू–भाग, ब्राजिल, एशिया र मध्य अफ्रिकाको केही भू–भाग रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनले दक्षिण सुडान र तान्जानियामा जमिनको ठूलो भाग सुक्खा हुने पनि बताएको छ ।