सम्पादकीय
साउन ९ गते बुधबार विस्तृत परीक्षण र मर्मत ‘सि चेक’ का लागि प्राविधिक र कर्मचारीसहित काठमाडौँबाट पोखराका लागि उडेको केही क्षणमै सौर्य एयरलाइन्सको सिआरजे ७९ एनएएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपासमा नै दुर्घटना भयो । जसमा १८ जनाको ज्यान गयो । सम्भवत पाइलट बाँच्न सफल भएको यो पहिलो घटना हो । यो जहाज दुर्घटनाले नेपालको हवाई यात्राको सुरक्षासम्बन्धी बहस फेरि एकपटक सतहमा आएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि के नेपाली हवाई उडान सुरक्षित छ भन्ने ज्वलन्त प्रश्न खडा भएको छ । सरकारकाले छानविनका लागि आयोग गठन गरेको छ ।
विज्ञान र प्रविधिको विकाससँगै संसारमा सुरक्षित, आरामदायी र छिटो यात्राका लागि हवाई यातायातलाई ग्रहण गरिएको छ । तर नेपालमा भने ठिक विपरीत मानिएको छ । सानो मात्रै प्राविधिक गडबडी भयो भने पनि हवाई यात्रुको जीवन धरापमा पर्छ । हवाई इतिहासमा डरलाग्दा दुर्घटनाका समाचार विगतदेखि वर्तमानसम्म आइरहेका छन् । नेपाली आकाश पनि हवाई दुर्घटनाबाट अछुतो छैन् । सात दशकमा १ सय ८ वटा दुर्घटनाको सामना गरिसकेको छ । जसमा ९ सय ६९ यात्रुको दुःखद निधन भएको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवा प्रदायक र नियमनकारी निकाय हुने गरी अलग्याउनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र युरोपेली युनियनले सुझाव र दबाब दिँदै आएका छन् । आईकाओको प्रतिवेदनपछि नेपाल कालोसूचीमा परेको छ । नेपालमा जहाज दुर्घटना भइरहेन, शोक सन्देश दिने, आयोग गठन गर्ने तर हवाई क्षेत्रको कमजोरी पत्ता लगाई सुधारको यथोचित पहल नगर्ने हो भने फेरि पनि जनधनको क्षतिको ग्राफ बढ्ने छ ।
अधिकांश दुर्घटनापछि गठित छानबिन समितिको प्रतिवेदनले पनि प्राविधिकभन्दा मानवीय पक्ष नै बढी जिम्मेवारी भएको सार्वजनिक गरिन्छ । कतिपय प्रतिवेदन गुपचुममै सीमित हुन्छन् । हवाई कम्पनीको कमजोरी ढाकछोप गरिन्छ । नेपाली हवाई आकाशमा दुर्घटना बढ्नुमा मानवीय कमजोरीसँगै पहाडी भूगोल, खराब मौसम, अप्ठ्यारा विमानस्थल, साँघुरो धावनमार्ग, आधुनिक उपकरणको अभाव, चराको जगजगी चालकदमाथि दबाब जस्ता कमजोरी दुर्घटनापश्चात् जाँचबुझ समितिले बुझाउने प्रतिवेदनमा आउँछन् । तर त्यसलाई सुधार गरेर चुस्तदुरुस्त बनाउने निकाय सधैँ निदाइरहेका हुन्छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अनुसार नेपालमा वायुसेवा सञ्चालनको अनुमति दिने, वायुसेवा सञ्चालनसम्बन्धी अवस्था, मर्मत र अनुगमन प्राधिकरणले गर्छ । युरोपेली संघले प्राधिकरणलाई अनुगमनकारी र नियमनकारी दुई छुट्टाछुट्टै निकाय बनाउनु पर्ने सुझाव दिएको छ । नेपाली ध्वजावाहक जहाजलाई २०७० सालदेखि निरन्तर प्रतिबन्ध लागाउँदै आएको छ । यस घटनाले युरोपेली संघलाई पुष्टि गर्ने आधार दिएको छ । पुराना र पत्रु जहाज सञ्चालन गर्न दिनु सरासर नागरिकको ज्यान जोखिममा पार्नु हो । जहाज निर्माण कम्पनीले वर्षको आधारमा होइन उडान घण्टाका आधारमा मर्मत सम्भार गरे जहाज पुरानो हुँदैन भन्ने तर्क राखेको पाइन्छ । वार्षिक रूपमा विमानको ६ पटक परीक्षण गरिने, स्थलगत जाँच, उडानको समयमा छड्के परीक्षण हने प्राधिकरणको धारणा छ । तर पनि जहाज दुर्घटनाका अप्रिय खबरले हवाई यात्रुको सातो खाइरहेको छ ।
प्राधिकरणले बलियो अनुगमन गरेको भए ‘सि चेक’ का लागि गैरव्यावसायिक उडान गरेको जहाजले त्यति धेरै प्राविधिक र कर्मचारीलाई एकैसाथ सवार नगर्न सुझाउनु पथ्र्यो । जसले गर्दा जनधनको क्षति कम हुन्थ्यो । प्राविधिक उडानमा गैरप्राविधिक यात्रु उडाउन नहुने नियमविपरीत एक बालक र महिलासमेत हुनुले हवाई नियम उलङ्घन गरेको पुष्टि हुन्छ । सौर्य एयरलाइन्स र नियमनकारी निकाय प्राधिकरणबाट गम्भीर लापरवाही र कमजोरी भएको सरोकारवालाहरूको विचार मननीय छ ।
अधिकांश दुर्घटनापछि गठित छानबिन समितिको प्रतिवेदनले पनि प्राविधिकभन्दा मानवीय पक्ष नै बढी जिम्मेवारी भएको सार्वजनिक गरिन्छ । कतिपय प्रतिवेदन गुपचुममै सीमित हुन्छन् । हवाई कम्पनीको कमजोरी ढाकछोप गरिन्छ । नेपाली हवाई आकाशमा दुर्घटना बढ्नुमा मानवीय कमजोरीसँगै पहाडी भूगोल, खराब मौसम, अप्ठ्यारा विमानस्थल, साँघुरो धावनमार्ग, आधुनिक उपकरणको अभाव, चराको जगजगी चालकदमाथि दबाब जस्ता कमजोरी दुर्घटनापश्चात् जाँचबुझ समितिले बुझाउने प्रतिवेदनमा आउँछन् । तर त्यसलाई सुधार गरेर चुस्तदुरुस्त बनाउने निकाय सधैँ निदाइरहेका हुन्छन् ।
आगामी दिनमा हवाई दुर्घटना न्युनीकरणका लागि प्राधिकरणले आफ्नो कामलाई चुस्तदुरुस्त बनाउनुपर्छ । आयोगले दिने प्रतिवेदन र यसअघिका सुझावलाई कार्यान्वयनमा ल्याउन वाञ्छनीय देखिन्छ । नेपाली हवाई उडान सुरक्षित र भरपर्दो छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतलाई दिन प्राधिकरण चुक्नु हुँदैन् । नीतिगत र व्यवस्थापकीय सुधारको खाँचो खड्किएको छ । आइकाओको कालो सूचीबाट बाहिर आउने जमर्को प्राधिकरणले अविलम्व गर्नुपर्छ । नेपाल आउने पर्यटकका लागि यसले सुरक्षाको प्रत्याभूति दिन्छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिष शाक्यलाई स्वास्थ्य लाभको कामना । विमान दुर्घटनामा जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोसन्तप्त परिवारजनमा समवेदना ।