सुचना, समाचार र मनोरन्जन

राजनीतिमुक्त विश्वविद्यालय र अन्तर्राष्ट्रिय साझेदारीमा सरकारको जोड

काठमाडौं,

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन विदेशी विश्वविद्यालयसँग ‘प्रोफेसर एक्सचेन्ज प्रोग्राम’ सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले विभिन्न मुलुकका राजदूतहरूसँग नियमित छलफल गर्दै त्रिविसहित अन्य विश्वविद्यालयमा विदेशी प्राध्यापक ल्याउने र नेपाली प्राध्यापकलाई विदेशका विश्वविद्यालयमा अध्यापन तथा अनुसन्धानका लागि पठाउने विषयमा पहल गरिरहेको जानकारी दिए।

उनले त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय मापदण्डको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै पुरानो गौरवलाई जोगाउँदै आधुनिक र गुणस्तरीय उच्च शिक्षातर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्री पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप, भागबन्डा र दबाबको अन्त्य गर्दै योग्यता र प्रतिस्पर्धाका आधारमा नेतृत्व तथा नियुक्ति प्रणाली विकास गरिने बताए। इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त भएको उल्लेख गर्दै उनले यसले उच्च शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए।

सरकारले आगामी चार वर्षभित्र विश्वविद्यालयमा हुने सरुवा, बढुवा र नियुक्तिलाई पूर्ण रूपमा राजनीतिक प्रभावबाट मुक्त बनाउने, स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता सुनिश्चित गर्ने तथा त्रिभुवन विश्वविद्यालयको अतिक्रमित सम्पत्ति फिर्ता ल्याउने प्रतिबद्धता पनि मन्त्री पोखरेलले व्यक्त गरे।

उनका अनुसार सुशासन, अन्तर्राष्ट्रिय सहकार्य र शैक्षिक गुणस्तर सुधारमार्फत आगामी पाँच वर्षभित्र नेपालको उच्च शिक्षामा उल्लेखनीय परिवर्तन ल्याउने सरकारको लक्ष्य रहेको छ।

Leave A Reply

Your email address will not be published.